मकवानपुर — मकवानपुरको मनहरी गाउँपालिका–६ कोलाघारीका एक पुरुषको करेन्ट लागेर मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय ३९ वर्षीय मंगल बहादुर प्रजा रहेका छन्। प्रहरीका अनुसार उनी मनहरी–६ प्रतापपुरस्थित सुरेश मोक्तानको निर्माणाधीन घरमा ढोका जडान तथा ड्रिल गर्ने काममा संलग्न थिए। काम गरिरहेकै क्रममा अचानक विद्युत् प्रवाहमा परेर उनी गम्भीर घाइते भएका थिए।
घटनापछि उनकी श्रीमती रस्ती माया प्रजाले तत्काल मनहरी अस्पताल पुर्याएकी थिइन्। प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई हेटौंडा अस्पताल रिफर गरिएको थियो। तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
प्रहरीले मृतकको शव हेटौंडा अस्पतालमा राखिएको जनाएको छ। घटनाबारे थप अनुसन्धानका लागि प्रहरी चौकी सुनाचुरीबाट टोली परिचालन गरिएको छ। घटनास्थल चौकीबाट करिब ५ देखि ६ किलोमिटर उत्तरतर्फ रहेको बताइएको छ।
























