फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा कतारले अन्तिम समयमा गोल गर्दै स्विट्जरल्यान्डसँग १–१ को बराबरी खेलेको छ। सनफ्रान्सिस्को बे एरिया स्टेडियममा सम्पन्न खेलमा इन्जुरी समयको पाँचौं मिनेटमा बोउलेम खोउखीले गोल गरेपछि कतार पराजयबाट जोगिएको हो।
खेलको १७औं मिनेटमा ब्रिल इम्बोलाले पेनाल्टीमार्फत गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए। त्यसपछि लामो समयसम्म १–० को अग्रता जोगाएको स्विट्जरल्यान्ड जित नजिक पुगिसकेको अवस्थामा अन्तिम क्षणमा गोल बेहोर्न बाध्य भयो।
खेलको सुरुवातदेखि नै दुवै टोलीले आक्रामक शैली अपनाएका थिए। दोस्रो मिनेटमै कतारले अवसर सिर्जना गरेको थियो भने छैटौं मिनेटमा स्विट्जरल्यान्डको खतरनाक प्रहार कतारी गोलकिपर महमुद अबुनाडाले उत्कृष्ट बचाउ गरेका थिए।
दोस्रो हाफमा पनि स्विट्जरल्यान्डले लगातार दबाब बनाएर थप गोलका अवसर सिर्जना गर्यो। तर गोलकिपर अबुनाडाले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई खेलमा टिकाइराखे। उनको शानदार गोलकिपिङका कारण स्विट्जरल्यान्डले एक गोलभन्दा बढी गर्न सकेन।
निर्धारित समयपछि थप गरिएको ६ मिनेटको इन्जुरी समयको पाँचौं मिनेटमा होमाम अहमदले बायाँ विंगबाट दिएको क्रसलाई बोउलेम खोउखीले शक्तिशाली हेडरमार्फत जाली चुमाए। उक्त गोलसँगै कतारले महत्वपूर्ण एक अंक सुरक्षित गर्यो।
सन् २०२२ मा आयोजक राष्ट्रका रूपमा पहिलोपटक विश्वकप खेलेको कतार समूह चरणका सबै खेल हार्दै अंकविहीन बनेर बाहिरिएको थियो। तर यसपटक छनोट चरण पार गर्दै विश्वकप पुगेको कतारले स्विट्जरल्यान्डविरुद्धको बराबरीसँगै विश्वकप २०२६ मा आफ्नो पहिलो अंक जोड्न सफल भएको छ।
समूह ‘बी’ मा अब चारै टोलीको समान १–१ अंक भएको छ। यसअघि सोही समूहको अर्को खेलमा क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले पनि बराबरी खेलेका थिए, जसले समूहको प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाएको छ।
























