बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँच बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्तालाई बचत रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरेको छ।
मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बचत फिर्ता अभियानको शुभारम्भ गरेका हुन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार दर्शन, सुमेरु, नेशनल नमोबुद्ध, लालीगुराँस र सिभिल बचत तथा ऋण सहकारी संस्थाका एक हजार ७६६ बचतकर्ताले पहिलो चरणमा आफ्नो बचत फिर्ता पाउनेछन्।
कार्यक्रममा मुख्यमन्त्री बानियाँले लामो समयदेखि रोकिएको बचत सुरक्षित र व्यवस्थित रूपमा फिर्ता गर्ने कामलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए। बचतकर्ताको रकम हिनामिना गर्ने सहकारी सञ्चालकमाथि कानुनअनुसार कडा कारबाही गरिने पनि उनले स्पष्ट पारे।
यसअघि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जेठ २२ गते ती पाँच सहकारीका ११४ जना ठूला ऋणीको नाम सार्वजनिक गर्दै तत्काल ऋण चुक्ता गर्न आग्रह गरेको थियो।
समितिका अनुसार समस्याग्रस्त घोषित यी पाँच सहकारीमा १४ हजार ६४ बचतकर्ताको करिब २२ अर्ब ३८ करोड रुपैयाँ बराबरको मागदाबी रहेको छ।
























