हेटौँडा । कैलाश गाउँपालिका–५ का वडा अध्यक्ष छेकु लामाले बुवाको मुख हेर्ने दिन (बुवा खुवाउने औंशी) को अवसर पारेर वृद्धा आश्रमलाई खाद्यान्न सहयोग गर्नुभएको छ ।
हेटौंडा उपमहानगरपालिका–२, चौकिटोलस्थित ॐ वृद्धा आश्रममा अध्यक्ष लामाले दाल, चामल, आलु, नुन, तेल, मस्यौरा लगायत खाद्यान्न सामग्री करिब ६ हजार रुपैयाँभन्दा बढी बराबरकाे रकम प्रदान गर्नुभएकाे हाे ।
सहयोग हस्तान्तरणका क्रममा उहाँले वृद्धा बुवाआमाहरूसँग प्रत्यक्ष भेटघाट गर्दै आशीर्वाद पनि लिनुभएकाे थियाे । बुवाको सम्झनामा गरिएको यस सहयोगबारे अध्यक्ष लामाले भन्नुभयो, “आफ्नो पिताको सम्झनामा वृद्धाश्रमलाई सहयोग गर्न पाउँदा अत्यन्तै खुशी लागेको छ। कसैको पनि बुवाआमा यसरी वृद्धाश्रममा बस्न नपरोस् भन्ने मेरो कामना हो। तर, छोराछोरी विहिन भएर बस्न बाध्य भएका आमाबुवाहरूलाई सुरक्षित गाँस–वास–कपडाको व्यवस्था गर्नुपर्छ। सकेसम्म आफ्ना छोराछोरीकै साथमा वृद्धावस्थासम्म पुग्ने वातावरण बनोस् भन्ने मेरो शुभकामना छ।”
हाल चौकिटोलस्थित ॐ वृद्धाश्रममा २३ जना आमाबुवाहरू बस्दै आएका छन्।























































