वीरगञ्जमा हैजा संक्रमितको संख्या ११४ पुग्यो, ३९० बिरामी उपचाररत, १८४ डिस्चार्ज

सांकेतिक तस्बिर (एआईद्वारा सिर्जित)

हेटौंडा । वीरगञ्जमा हैजा संक्रमितको संख्या एक सय नाघेको छ । वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाले मंगलबार साँझ सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म हैजा संक्रमितको संख्या ११४ पुगेको छ ।

स्वास्थ्य शाखाका अनुसार हाल आईसीयूमा ३१, एचडीसीयूमा ६ र वार्डमा १६९ जना झाडापखाला तथा हैजाका बिरामी उपचाररत छन् । गत शुक्रबारदेखि अहिलेसम्म विभिन्न अस्पतालमा ३९० जना बिरामी भर्ना भएका थिए । तीमध्ये १८४ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने अझै २०६ जना बिरामी १६ वटा विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।

आरडीटी परीक्षणका आधारमा नारायणी अस्पतालमा ४३, तराई अस्पतालमा ३८ र नेसनल मेडिकल कलेजमा १५ जनामा हैजा संक्रमण पुष्टि भएको छ । यस्तै भवानी अस्पताल, वीरगञ्ज हेल्थ केयर र मंगलम प्याथोलोजीमा समान ३/३ जना, अली अर्थो अस्पताल र एड्भान्स सेन्ट्रल अस्पतालमा समान २/२ जना र नारायणी सेन्ट्रल, नेपाल इन्डो, नीलकण्ठ, नेपाल मेडिसिटी वयोद्या तथा सर्वोत्तम अस्पतालमा समान १/१ जनामा हैजा पुष्टि भएको छ ।

यसैबीच राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षण गरेका १० नमुनामध्ये ८ मा हैजा पुष्टि भएको जानकारी दिएको छ । बाँकी २ नमुनाको प्रतिवेदन बुधबार आउनेछ ।

स्वास्थ्य शाखाले हैजाको संक्रमण थप फैलिन नदिन सरसफाइमा विशेष ध्यान दिन, सुरक्षित खानेपानी प्रयोग गर्न तथा लक्षण देखिए तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.