हेटौँडा । अविरल वर्षापछि अवरुद्ध भएका बागमती प्रदेशको राजधानी हेटौँडाबाट संघीय राजधानी काठमाडौं जोड्ने मुख्य सडक खण्डहरूमध्ये केही आज सोमबार बिहानदेखि सञ्चालनमा आएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा–कुलेखानी–फाखेल–फर्पिङ सडकखण्ड र त्रिभुवन राजपथ (हेटौँडा–पालुङ–नौबिसे) पुनः सञ्चालनमा आएका हुन् ।
तर, हेटौँडा–काठमाडौं जोड्ने अन्य केही सडक अझै पनि अवरुद्ध रहेको प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिए । उनका अनुसार भीमफेदी–कुलेखानी–सिस्नेरी सडकखण्ड र कान्तिलोकपथ हालसम्म अवरुद्ध छन् ।
भीमफेदी–कुलेखानी–सिस्नेरी–फर्पिङ सडकखण्डमा पर्ने डोढारे खोलाले राजमार्गको केही भाग बगाएको छ भने दक्षिणकाली मन्दिर नजिक ठुलो पहिरो खसेपछि सो खण्डमा सवारी सञ्चालन हुन सकेको छैन । सिस्नेरी क्षेत्रमा सडक पुनःस्थापना र दक्षिणकाली क्षेत्रमा पहिरो पन्छाउने कार्य तीव्र गतिमा भइरहेको प्रहरी निरीक्षक सापकोटाले बताए ।
यसैगरी, कान्तिलोकपथमा ठिंगनदेखि बगुवा खोलासम्म तीन ठूला पहिरोका कारण सडकका केही भाग बगाएका छन् । हेटौँडादेखि बगुवा खोलासम्म साना–ठूला पहिरो खसेका छन् । सो सडकमा पहिरो पन्छाउने र बगाएको सडक मर्मत कार्य तीव्र गतिमा भइरहेको प्रहरीले जनाएको छ ।






















































