राक्सिराङ्ग। मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा आइतबार बागीभुगोल साप्ताहिक पत्रिकाको औपचारिक बिमोचन गरिएको छ । पत्रिकाले अबदेखि मनहरी, राक्सिराङ्ग र कैलाश गाउँपालिकाका २८ वटै वडाका समाचार र विषयहरू समेट्नेछ ।
पत्रिकाले ग्रामीण जीवन, स्थानीय संस्कृतिको संरक्षण र उपेक्षित समुदायको आवाज बुलन्द गर्ने लक्ष्य राखेको जनाएको छ । सहरका चिल्ला भवन र भव्य कार्यक्रमका समाचारभन्दा अलग, राक्सिराङ्ग र कैलाशका चेपाङ समुदाय, मनहरीका बनकरिया, गाउँका चिउरी, गिठ्ठा, भ्याकुर र कन्दमूलका विषयहरूलाई प्राथमिकता दिने पत्रिकाको प्रतिवद्धता रहेको छ।
बिमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि राक्सिराङ्ग गाउँपालिकाका उपाध्यक्ष बनस्तम थिङ्गले अहिलेको पत्रकारिता कार्यक्रम र उद्घाटनमै सीमित भएको भन्दै आलोचना गरे । उनले भने, पत्रकार भनेको खोजपत्रकारितामा आधारित हुनुपर्छ । उदघाटन र चिल्लो महलका समाचार लेख्नेले गाउँका दुःख–पीडा बुझ्दैनन् । अनलाइन मिडियाले भ्रम फैलाएको अवस्थामा यस्ता भुईपत्रिकाको आवश्यकता झन् बढेको छ ।
त्यस्तै सभाध्यक्ष तथा बागीभुगोलका संस्थापक रामकुमार एलनले राक्सिराङ्ग, मनहरी र कैलाशको विगतका संघर्ष र दुःखलाई स्मरण गर्दै भने, यी गाउँले नै बागमती प्रदेशको राजधानी हेटौँडाको उत्पादन धानिरहेका छन् । यदि गाउँ फेरि उपेक्षित रह्यो भने यसको अस्तित्व हराउनेछ । बागीभुगोलले त्यही आवाज मुखरित गर्नेछ ।
कार्यक्रममा पूर्व कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तान, राक्सिराङ्ग गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेत, वडा नं। ३ का अध्यक्ष उत्तम वाइवा, ग्लोबल आइएमई बैंक राक्सिराङ्ग शाखा प्रमुख रुद्र घलान, गाउँपालिकाका अधिकृत चुन नारायण श्रेष्ठ र चैनपुर प्रहरी प्रमुख दिपेन्द्र ढकाल लगायतको उपस्थितिमा बिमोचन गरिएको थियो ।
कार्यक्रमको सञ्चालन बागीभुगोलका उप–सम्पादक मदन जङ्ग गम्भीरले गरेका थिए भने सह–सम्पादक रुद्र तिमल्सिनाले बागीभुगोलको उद्देश्य र आगामी प्रकाशन योजना प्रस्तुत गरेका थिए ।






















































