नेताको आश्वासनमा ढलेका रुख र जनताको पसिनामा कच्ची पुल

मनहरी, लोथर। पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ६ खर्कन्डेटारको लोथर खोला चर्चामा छ । बर्खा लाग्दा जिउ नै डुबाउने खोला, जसले वर्षौँदेखि गाउँका जनताको दैनिकी अपाङ्ग बनाइरहेको छ । हिउँद लागेसँगै अहिले युवाको सामूहिक पसिनाले काठेपुल निर्माण गरिएको छ । यो गाउँलेले निर्माण गरेको एउटा अस्थायी पुल मात्र होइन, यो जनताको आशा, परिश्रम र नेताहरूको असफलताको प्रतीक पनि हो भन्दा फरक नपर्ला ।

राक्सिराङ गाउँपालिका–६, ७, ८ र ९ का बासिन्दा वर्षौँदेखि लोथर खोलाका कारण आवतजावतमा निकै कठिनाइ भोग्दै आइरहेका छन् । खोला तर्दा बाढीले कैयौँले ज्यान गुमाएका छन्, बिरामी अस्पताल पु¥याउन नसकेर ज्यान गुमाएका उदाहरण पनि ताजा छन् । नेताहरू चुनाव आउँदा भाषण गर्छन्, ‘अबको वर्ष यहाँ पुल बनाउँछौँ, योजना बनेको छ, बजेट आउनेछ ।’ गाउँका जनता वर्षौँसम्म त्यही ‘छ’ को आशामा बाँधिएका छन् । तर पुल कहिल्यै बनेन, खोला कहिल्यै सुकाएन, नेताको वाचा वर्षौँको खोलाको बाढीमा बगाइरह्यो ।
‘नेताले खोला नाघ्न हामीजस्तै बुट खोलेर खोलामा पस्नुपर्दैन, उनीहरूको गाडी फड्किन्छ, हेलिकप्टर उड्छ । त्यसैले उनीहरूलाई हाम्रो पीडा कहिल्यै देखिँदैन,’ वडा नम्बर ६ का अध्यक्ष अक्कल बहादुर मोक्तानको स्वर दुःखले भरिएको छ । यसपालि पनि बर्खा सकिएसँगै उनले युवा समूहसँग सल्लाह गरेर आफैँ पुल बनाउने निर्णय गरे । ‘वडाको बजेटले भ्याउँदैन, प्रदेश र संघीय सरकारको मुख ताक्दाताक्दै बूढो भइयो । अब नेताको मुख हेर्ने होइन, आफ्नै हात चलाउने हो,’ उनले भने ।

त्यसपछि शुरु भयो गाउँको अभियान, काठ काट्ने, सिंगै रुख काटेर बोक्ने, हतौडा हान्ने, दाउरा बोकेर खोलाको किनार पुग्ने, खोलाको बीचमा काठ राख्ने । वडाका युवा बिहान सबेरैदेखि साँझसम्म पसिना बगाएर पुल बनाउन थाले । कसैले खाना ल्याए, कसैले दाउरा र राँजु बोके । दुई दिनमै पुल बन्यो, जसको कुरा नेताहरूले दशकौँसम्म पूरा गर्न सकेनन्, गाउँलेहरूले आफ्नै हातले गरिदिए । लोथर खोलामाथि अब एउटा बलियो काठे पुल उभिएको छ । अस्थायी भए पनि जनताको गर्वको प्रतीक खडा भएको छ ।
राक्सिराङ गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले भने, ‘यो केबल काठको पुल होइन, यो जनताको सामूहिक श्रमको प्रतिफल हो । यो पुलले हजारौँ जनताको जीवन सहज बनाएको छ ।’ उनका अनुसार, पुल निर्माणपछि अब ५ देखि १० हजार बासिन्दाले प्रत्यक्ष लाभ लिनेछन् ।
तर स्थानीय युवा रामलाल थिङले उपाध्यक्ष बनस्तम थिङलाई समेत प्रश्न गरे, ‘उपाध्यक्षज्यू युवाहरुले सिंगै रुख बोकेर बनाएको काठेफुलको तस्विर पोस्ट गरिरहँदा तपाईंलाई लाज लागेन ?’ उपाध्यक्ष थिङ भन्छन्, ‘लाजअनुसार लाज लाग्छ भाइ, यहाँ पुल बनाउन स्थानीय सरकारको बजेटले भ्याउने सम्भावना छैन । ४ पटक संसद भएका विरोध खतिवडा, राजाराम स्याङ्तान, महेश बर्तौला, इन्द्र बहादुर बाँनिया, गोविन्दराम चेपाङलगायत नेताहरुले यस पुलको नाममा हरेक चुनावमा भोट मागिरहे र चुनाव जितेपछि गाउँ बिर्सिए । स्थानीय तहले त सहजिकरण गर्नेसम्म त हो । पक्की पुल बनाउन हामी कैयौँपटक प्रदेश र केन्द्रको गेट ढक्ढक्याइरहेका छौँ । सर्वे भइसकेको छ, २३ करोड रुपैयाँ बराबरको पुल निर्माण योजनाको टेण्डर प्रकृयामा छ तर टेण्डर खुलेको छैन तर हामी थाकेका छैनौँ–बनाउछौँ ।’
यो पुलले एम्बुलेन्स, बोलेरो, अटो र मोटरसाइकललाई समेत चल्न दिने सुविधा दिएको छ । अब बर्खा लाग्दा पनि विद्यालय जाने बाटो बन्द हुने छैन, बिरामीलाई बोक्न नदी पार गर्नुपर्ने छैन । गाउँलेहरूका अनुहारमा हिउँदसँगै मुस्कान फर्किएको छ ।

तर त्यही मुस्कानभित्र पीडा पनि लुकेको छ । गाउँलेहरू भन्छन्, ‘चुनाव आउँदा नेताले हाम्रा घरसम्म आइपुग्छन्, वाचा गर्छन्, खोला पार गर्न पक्की पुल हाल्छु भन्छन्, तर जितेपछि उनीहरूलाई यो गाउँ सम्झन समय हुँदैन । खोला तर्ने पुल बनाउने कुरा हरेक चुनावको भाषणमा हुन्छ, तर त्यसको कार्यान्वयन कहिल्यै हुँदैन ।’
वडा अध्यक्ष मोक्तान भन्छन्, ‘हामीले हरेक पटक बजेट माग्यौँ, गाउँपालिकाबाट पनि पहल भयो, तर माथिल्लो तहले ध्यान दिएन । जनता बगिरहे, खोला गर्जिरह्यो, नेताहरू मौन बसिरहे । अब जनता मौन बस्दैनन् ।’
त्यो अस्थायी पुल अहिले गाउँको गर्व बनेको छ । हरेक बिहान गाउँका बालबालिकाले त्यसैबाट विद्यालय जान्छन्, वृद्धहरू बजार जान्छन्, मोटरसाइकल गुड्छ । गाउँका युवा पुल बनाउदै भन्छन् ‘युवाहरुले आँट गर्नुपर्छ गाउँ आफैँ बनाउन सकिन्छ । अहिले सिंगो रुख बोकेर कच्ची पुल बनायौँ अब पक्की पुल बनाउन कहाँ जानुपर्ने हो ? के–के गर्नु पर्ने हो हामी ज्यानको बाजी थापेर जान तयार छौँ ।’
रात पर्दा पुलमाथि टल्किने बत्तीको उज्यालोमा काठ र पसिनासँग मिसिएको जनताको साँचो सुगन्ध आउँछ । बर्खाको मौसम आउँदा फेरि पुल ढल्छ, फेरि बनाउनु पर्ने हुन्छ, तर अब गाउँका जनतामा डर छैन । उनीहरू भन्छन् ‘हामीले खोलासँग लड्न सिक्यौँ, नेताको मुख हेर्ने दिन सकियो ।’

राक्सिराङका जनताका लागि यो कच्ची पुल होइन, उनीहरूको इतिहासको एउटा अध्याय हो । जहाँ नेताहरूले बिर्सिएका वाचा जनताले आफ्नै हातले पूरा गरेका छन् । लोथर खोलाको धार अझै उस्तै वेगमा बगिरहेको छ, तर यसपटक हिउँद लागेसँगै त्यसको माथि एउटा कथा उभिएको छ । जनताको पसिनाले बनेको, नेताको वचनमाथि लेखिएको कच्ची पुल । कच्ची पुल त हरेक वर्ष बर्खा सकिएसँगै बन्छ तर नेताहरुको पुस्तौँदेखिको पक्की पुल बनाउने वाचा चाँहि कहिले पूरा हुन्छ, त्यो भने हेर्न बाँकी छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.