नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र कार्यविभाजनलाई लिएर विवाद चुलिएको छ। पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा सोमबार बसेको केन्द्रीय संयोजन समितिको बैठक शीर्ष नेताबीच सहमति नजुट्दा निष्कर्षविहीन बनेको हो।
बैठकमा विशेषगरी महत्त्वपूर्ण विभागहरूको नेतृत्व कसले लिने भन्ने विषयमा मतभेद देखिएको थियो। वामदेव गौतम र झलनाथ खनाल ले आ–आफ्नो दाबी प्रस्तुत गरे पनि अन्ततः वर्षमान पुन ले सङ्गठन विभाग प्रमुखको जिम्मेवारी पाएपछि असन्तुष्टि बढेको एक नेताले बताएका छन्। यही कारण बैठक बिना निर्णय स्थगित गरिएको हो।
यद्यपि, भूगोल र गैर–भूगोल गरी ९ प्रदेशको इन्चार्ज भने टुङ्गो लगाइएको छ। राजेन्द्र राई लाई कोशी प्रदेश, महिन्द्र राय यादव लाई मधेश प्रदेश को इन्चार्ज तोकिएको छ। सह–इन्चार्जमा मात्रिका यादव र रामकुमार भट्टराई चयन भएका छन्।
त्यसैगरी डा. गङ्गालाल तुलाधर लाई बागमती प्रदेश, श्रीनाथ बराल लाई गण्डकी प्रदेश, चक्रपाणि खनाल लाई लुम्बिनी प्रदेश, चन्द्रबहादुर शाही लाई कर्णाली प्रदेश र भीम रावल लाई सुदूरपश्चिम प्रदेश को जिम्मेवारी दिइएको छ।
गैर–भूगोलतर्फ उपत्यका विशेष प्रदेशको इन्चार्जमा हितमान शाक्य र सम्पर्क प्रदेशको इन्चार्जमा यशोदा सुवेदी तोकिएका छन्।
बैठकमा संयोजक पुष्पकमल दाहाल ले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव पनि प्रस्तुत गरेका थिए। साथै, संविधान संशोधनका विषयमा अध्ययन गर्न ११ सदस्यीय कार्यदल गठन गरिएको छ। बाँकी जिम्मेवारीबारे निर्णय गर्न बैठक मंगलबार पुनः बस्ने बताइएको छ।


















