सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण (मेडिकल) शुल्क झन्डै ५० प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ । सो निर्णय प्रति नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयूसी) ले कडा आपत्ती जनाएको छ ।
मुलुक राजनीतिक संक्रमणकालबाट गुज्रिरहेको र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा विभागीय मन्त्री समेत नभएको मौका छोपेर शुल्क वृद्धि गरिएको युनियनले आरोप लगाएको छ । स्वार्थ समूह र कथित व्यवसायीहरूको मिलोमतोमा मिटरब्याजमा ऋण काढेर तथा घर–खेत बेचेर विदेश जान बाध्य तल्लो वर्गका श्रमिकमाथि थप आर्थिक भार थोपर्ने काम भएको महासंघको ठहर छ ।
हालसम्म स्वास्थ्य व्यवसायीहरूले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूबाट स्वास्थ्य परीक्षणबाट ३५ सयदेखि ६५ सय रुपैयाँसम्म लिँदै आएका छन् ।
वैदेशिक रोजगारीले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ३० प्रतिशत रकम स्वदेश पठाइरहेको अवस्थामा श्रमिकलाई सहुलियत दिनुको सट्टा उल्टै चर्को शुल्क असुल्नु न्यायोचित नभएको नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयूसी) लले स्पष्ट पारेको छ ।























































