ख्रीष्टमसको अवसरमा राक्सिराङ गाउँपालिकामा तीन दिन सार्वजनिक बिदा

राक्सिराङ । मकवानपुरको राक्सिराङ गाउँपालिकाले ख्रीष्टमस पर्वको अवसरमा तीन दिन सार्वजनिक बिदा दिएको छ। गाउँपालिकाले ख्रीष्टमसको अवसरमा यही पुस १०, ११ र १२ गते (डिसेम्बर २५, २६ र २७) सार्वजनिक बिदा दिइएको हो।

गाउँपालिकाले शुभकामना सन्देशमा इसाई धर्मावलम्बीहरूले हरेक वर्ष डिसेम्बर २५ का दिन हर्षोल्लासका साथ मनाउँदै आएको महान् चाड ख्रीष्टमसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरिएको छ।

चेपाङ र तामाङ समुदायको बाहुल्य बसोबास रहेको राक्सिराङ गाउँपालिकामा ख्रीष्टमस मान्ने समुदायको संख्या पनि उल्लेख्य रहेकाले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी सम्मानलाई प्रवर्द्धन गर्ने उद्देश्यले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।

विविध जाति, धर्म र संस्कृतिको संगम रहेको राक्सिराङमा ख्रीष्टमस पर्वले आपसी भाइचारा, प्रेम, करुणा र समझदारीको भावना अभिवृद्धि गर्दै शान्त, समृद्ध र समावेशी समाज निर्माणमा प्रेरणा दिने अपेक्षा गाउँपालिकाले व्यक्त गरेको छ।

बिदाका दिनहरूमा गाउँपालिकाअन्तर्गतका सम्पूर्ण सार्वजनिक, सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरू बन्द रहने जनाइएको छ।

स्थानीय ख्रीष्टियन समुदायले गाउँपालिकाको निर्णयलाई सकारात्मक रूपमा स्वागत गर्दै यसले धार्मिक अल्पसंख्यक समुदायको पहिचान र आस्थाको सम्मान भएको बताएका छन्। त्यस्तै, समुदायका अगुवाहरूले पनि सबै धर्म र संस्कृतिलाई समान दृष्टिले हेर्ने नीति राक्सिराङको सामाजिक एकताको आधार भएको प्रतिक्रिया दिएका छन्।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लद्वारा हस्ताक्षरित विज्ञप्तिमा ख्रीष्टमस पर्वले राक्सिराङलाई अझै शान्त, समृद्ध र सद्भावयुक्त गाउँपालिका बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.