जाडोयाम स्रु भएसँगै बढ्दो चिसोमा न्यानो रहन प्रयोग गरिने हिटर, अंगिठी, ग्यास हिटर तथा विद्युतीय उपकरणको गलत र लापरबाहीपूर्ण प्रयोगले ज्यानसमेत जोखिममा पर्ने गरेको छ।
पछिल्ला दिनहरूमा चिसो छल्न कोठाभित्र हिटर वा अंगिठी बालेर सुत्दा अक्सिजनको कमी, ग्यास चुहावट तथा आगलागीका घटनाहरू बढ्दै गएका छन्। यस्ता घटनाका कारण मानिसहरू अकालमै ज्यान गुमाउन बाध्य भइरहेको चिकित्सक तथा सुरक्षा निकायले चेतावनी दिएका छन्।
विशेषगरी बन्द कोठामा अंगिठी, दाउरा वा ग्यास बालेर सुत्नु अत्यन्त जोखिमपूर्ण हुने विज्ञहरू बताउँछन्। यसले कार्बन मोनोअक्साइड ग्यास जम्मा भई अचेत अवस्था सिर्जना हुनसक्ने खतरा रहेको छ। त्यस्तै, विद्युतीय हिटरको तार बिग्रिएको वा अत्यधिक लोडमा प्रयोग गर्दा आगलागीको सम्भावना पनि बढ्ने गर्दछ।
सुरक्षा निकायले न्यानो पार्ने उपकरण प्रयोग गर्दा कोठामा पर्याप्त हावापसार हुने व्यवस्था गर्न, सुत्दा यस्ता उपकरण बन्द गर्न तथा बालबालिका र ज्येष्ठ नागरिकको विशेष ध्यान राख्न आग्रह गरेको छ।
चिसोबाट बच्न न्यानो कपडा लगाउने, झ्यालढोका केही खुला राख्ने र सुरक्षित उपाय अपनाउनु नै ज्यान जोगाउने सबैभन्दा उत्तम विकल्प भएको विज्ञहरूको सुझाव छ।
-यस्तो छ चिसो लाग्नुुपुर्व बच्ने उपाय,
लुगा र शरीर
-
न्यानो कपडा (ज्याकेट, स्वेटर, मफलर, टोपी) लगाउने
-
तह–तहमा लुगा लगाउने
-
खुट्टा र कान राम्रोसँग छोप्ने
खानपान
-
तातो खाना र पेय पदार्थ (तातो पानी, सूप, झोलिलो दाल) खाने
-
अदुवा, बेसार, ज्वानो जस्ता न्यानो बनाउने चीज समावेश गर्ने
-
चिसो पेय पदार्थ टार्ने
बसोबास
-
कोठा घाम लाग्ने र हावा नछिर्ने बनाउने
-
बिहान–बेलुका घाम ताप्ने
-
सिरक/कम्बल प्रयोग गर्ने
बानी–व्यवहार
-
हल्का व्यायाम वा स्ट्रेचिङ गर्ने
-
लामो समय चिसो ठाउँमा नबस्ने
-
भिजेको लुगा तुरुन्त फेर्ने
स्वास्थ्य सावधानी
-
रुघाखोकीबाट बच्न मास्क प्रयोग गर्ने
-
हात–मुख सफा राख्ने
-
धेरै चिसो भए आगो/हिटर सुरक्षित रूपमा प्रयोग गर्ने























































