सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराबजारमा घटेको एक हृदयविदारक घटनाले मानवता नै झस्काएको छ । आफ्नै घरभित्र, आफ्नै नातेदारको हातबाट एक युवती बुहारीले ज्यान गुमाउनु परेको छ । पेट्रोल छर्की आगो लगाएर ३२ वर्षीया सुशीला बम्जनको हत्या गरिएको आरोपमा उनकी सासू र नन्द प्रहरी नियन्त्रणमा परेका छन् ।
आइतबार अपराह्न करिब साढे चार बजेतिर दुर्गामान बम्जनको २.५ तले घरको बीच तल्लास्थित भान्सा कोठा अचानक सुशीला बम्जनको अन्तिम सासको साक्षी बन्यो । पेट्रोल र मट्टितेल छर्की लगाइएको आगोले उनलाई जिउँदै निल्यो र घटनास्थलमै उनको जीवन समाप्त भयो ।
आगलागीमा परी घरमूली दुर्गामान बम्जन स्वयं पनि घाइते भए । खुट्टा र ढाड जलेको अवस्थामा उनलाई उपचारका लागि सिन्धुली अस्पताल पठाइएको छ । सुरुमा सामान्य आगलागीको घटना ठानिए पनि प्रहरीको सूक्ष्म अनुसन्धानले यो घटना योजनाबद्ध हत्या भएको भयावह सत्य उजागर गर्यो ।
घटनास्थलबाट पेट्रोल भरिएका बोतल, जलेको बोतल, लाईटर र आगो बाल्न प्रयोग गरिएको राँको फेला परेपछि घटनाले झनै डरलाग्दो रूप लियो । शङ्काको घेरामा परेकी मृतककी सासू माया रानी बम्जन र नन्द मीना लामा (बम्जन) लाई प्रहरीले नियन्त्रणमा लियो । प्रारम्भिक सोधपुछमै नन्द मीना लामाले सुशीलामाथि पेट्रोल छर्की आगो लगाएको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
छोरी गुमाएका बाबु प्रेमबहादुर घिसिङले पुस ७ गते आफ्नी छोरीको न्यायका लागि सासू र नन्दविरुद्ध किटानी जाहेरी दर्ता गराए । सोही आधारमा ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको छ ।
हाल पक्राउ परेका ५९ वर्षीया मायारानी बम्जन र ३५ वर्षीया मीना लामा (बम्जन) लाई जिल्ला अदालत सिन्धुलीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
यो घटनाले घरलाई सुरक्षित आश्रय ठान्ने हजारौँ महिलाको मनमा गहिरो डर र पीडा छोडेको छ ।






















































