श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रमिकले राहदानी, श्रम स्वीकृतिलगायतका कागजात लिन अनेक झमेला झेल्नुपरेको अवस्था अन्त्य गर्न वडा तहबाटै सेवा दिनुपर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित अनौपचारिक तथा स्वरोजगार श्रमिकहरूको सामाजिक सुरक्षा राष्ट्रिय अभियान शुभारम्भ कार्यक्रममा बोल्दै उनले कागजातका नाममा हुने ठगी र दलालको प्रभाव रोक्न स्थानीय तहबाटै सेवा उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिए ।
सानो काम गर्नसमेत धेरै प्रक्रिया र हैरानी झेल्नुपर्दा नेपाली युवाहरू रोजगारीका लागि विदेशिन बाध्य भएको उनले बताए । राज्य समयमै श्रमिकको पक्षमा उभिन नसक्दा उनीहरू दलालको फन्दामा पर्ने अवस्था बनेको उनको भनाइ छ ।
मन्त्री भण्डारीले राज्यको कमजोर उपस्थितिका कारण श्रमिकहरू आफ्नै देशभित्र पनि ठगीको सिकार हुनुपरेको उल्लेख गर्दै यस अवस्थाको अन्त्यका लागि नीतिगत सुधार आवश्यक रहेको बताए ।






















































