बिचौलियाको चपेटामा किसान : मकवानपुरका मनहरी, राक्सिराङ र कैलाशको वास्तविक कथा (भिडियो सहित)

मकवानपुर। मकवानपुरको पश्चिम भेगका मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाका खेतबारी अहिले पनि हरिया छन् । कतै टनेलभित्र गोलभेँडा लालीमा पाकेका छन्, कतै मकैका बोट हावासँगै हल्लिरहेका छन्, कतै कोदो, धान, काउली, बन्दा र सिमीले पहाडको भिर सजाएका छन् । हेर्दा लाग्छ, किसानले मेहनत गरेका छन्, माटोले साथ दिएको छ । तर यही हरियालीभित्र लुकेको पीडा भने बजारमा पुगेपछि मात्रै देखिन्छ । किसानले खेतमा पसिना बगाउँछ, तर नाफा भने बिचौलियाको हातमा पुग्छ । यही यथार्थले मकवानपुरका यी तीन क्षेत्रका किसानलाई वर्षौंदेखि थिचिरहेको छ । यो समस्या यही तीन क्षेत्रकोमात्र होइन, यो समग्र मकवानपुरको र देशकै समस्या हो ।

मनहरी क्षेत्रलाई तरकारीको सम्भावनायुक्त क्षेत्र मानिनेमात्र होइन, देशको विभिन्न स्थानहरुमा यहाँको तरकारी पुग्ने गर्छ । नारायणी करिडोर नजिक भएकाले यहाँ उत्पादन भएको तरकारी काठमाडौं, चितवन र हेटौंडामात्र नभएर देशको अन्य ठाउँसम्म पुग्ने क्षमता राख्छ । तर व्यवहारमा किसानले त्यो पहुँच पाएका छैनन् । अधिकांश किसान बिहानै खेतबाट तरकारी टिपेर स्थानीय संकलकलाई बोलाउँछन् । मूल्य किसानले तोक्दैन, संकलकले तोक्छ । किसानसँग आजको बजार मूल्यको जानकारी हुँदैन, तरकारी बिग्रने डर हुन्छ, भण्डारण छैन, गाडी छैन । त्यसैले जे भन्यो त्यही मूल्यमा बेच्न बाध्य हुन्छ । त्यही तरकारी केही घण्टामै हेटौंडा वा चितवनको बजारमा दोब्बर-तेब्बर मूल्यमा बिक्री हुन्छ । किसानले त्यो खबर पछि सुन्छ, तर केही गर्न सक्दैन ।
राक्सिराङको अवस्था झन् जटिल छ । यहाँ भूगोल नै चुनौती हो । बाटो, ढुवानी र बजार तीनै कुरा कठिन छन् । किसानले परम्परागत खेतीसँगै पछिल्ला वर्षमा तरकारी र केही रैथाने बालीतर्फ पनि आकर्षण बढाएका छन् । तर उत्पादन बेच्ने बेला समस्या उही पुरानै देखिन्छ । बजार टाढा छ, बिचौलिया नआएसम्म सामान नउठ्ने, आए पनि मनपरी मूल्य लगाउने । कतिपय किसान त ऋणमा खेती गर्छन् । बीउ, मल, प्लास्टिक, मजदुरी सबै उधारो । तर बाली बेच्दा त्यो ऋण तिर्न नपुग्ने मूल्य पाउँदा किसान फेरि अर्को सिजनमा झन् कमजोर अवस्थामा प्रवेश गर्छ । यसरी किसान ऋण र बिचौलियाको चक्रमा फस्दै गएको देखिन्छ ।
कैलाश गाउँपालिकामा स्थानीय सरकारले रैथाने बाली संरक्षण, कृषि अनुदान र व्यावसायिक खेतीका कार्यक्रम अघि सारेको छ । कागजमा हेर्दा नीति राम्रो देखिन्छ । तर किसान भन्छन्, ‘खेती गर्न सिकाइयो, बीउ दिइयो, तर बेच्ने ठाउँ देखाइएन ।’ कैलाशका पहाडी बस्तीमा उत्पादन भएको कोदो, फापर, आलु, सिमी जस्ता बाली बजारमा राम्रै मूल्य पाउन सक्छन् । तर त्यसका लागि ब्राण्डिङ, संकलन केन्द्र र नियमित बजार सञ्जाल चाहिन्छ, जुन अझै व्यवस्थित हुन सकेको छैन । परिणामतः किसानले फेरि पुरानै व्यापारीको ढोका ढकढक्याउनुपर्छ, जहाँ मूल्य किसानको मेहनतअनुसार होइन, व्यापारीको मनअनुसार तय हुन्छ ।
यी तीनै क्षेत्रमा साझा समस्या भनेको बजारमाथिको नियन्त्रण किसानसँग नहुनु हो । किसान उत्पादन गर्छ, तर बजारको सूचना, पहुँच र शक्ति बिचौलियासँग केन्द्रित छ । किसानलाई आज कुन तरकारीको माग बढी छ, कुन बाली कति मूल्यमा बिक्दैछ भन्ने थाहा हुँदैन । त्यो जानकारी बिचौलियासँग हुन्छ । यही सूचना असमानताले किसानलाई सधैं कमजोर बनाइराखेको छ । कतिपय अवस्थामा त बिचौलियाले ‘आज बजार छैन’ भनेर सस्तोमा किन्ने, भोलिपल्टै त्यही सामान महँगोमा बेच्ने गरेको गुनासो किसानले गर्ने गरेका छन् ।
बिचौलियालाई मात्र दोष दिएर पनि समस्या समाधान हुँदैन । बजारसम्म उत्पादन पुर्‍याउने काम, ढुवानी, संकलन जस्ता काम उनीहरूले गरिरहेका छन् । तर समस्या तब सुरु हुन्छ, जब उनीहरूको शक्ति एकतर्फी हुन्छ र किसान संगठित हुँदैन । मनहरी, राक्सिराङ र कैलाशमा किसान समूह र सहकारी भए पनि ती अझै बजार केन्द्रित बन्न सकेका छैनन् । सहकारी ऋण दिने संस्थामा सीमित हुँदा किसानको उत्पादन बेच्ने सवाल फेरि बाहिरकै व्यापारीको हातमा जान्छ ।
स्थानीय किसान भन्छन्, यदि गाउँमै संकलन केन्द्र, चिस्यान भण्डारण र सहकारीमार्फत सिधा बजार जोडिने व्यवस्था भए, बिचौलियाको भूमिका स्वाभाविक रूपमा सीमित हुन्थ्यो । तर यस्ता संरचनामा लगानी कम छ । स्थानीय सरकार, सहकारी र निजी क्षेत्रबीचको सहकार्य अझै प्रभावकारी बन्न सकेको छैन । परिणामतः किसान उत्पादन बढाउँछ, तर आम्दानी बढ्दैन ।
यसको सामाजिक असर पनि देखिन थालेको छ । खेतीबाट जीविका नचलेपछि युवा वैदेशिक रोजगारीतर्फ जान्छन् । गाउँमा वृद्ध र महिला मात्रै बाँकी रहन्छन् । खेत बाँझिन थाल्छ, अनि फेरि राज्यले ‘खेती घट्यो’ भनेर चिन्ता व्यक्त गर्छ । तर खेती घट्नुको जरो बजार व्यवस्थापनमा रहेको तथ्यलाई गहिरो रूपमा स्वीकार गरिएको देखिँदैन ।
मकवानपुरका यी तीन क्षेत्रका किसान आज यही प्रश्न सोधिरहेका छन् ‘हामीले उत्पादन मात्रै गर्ने कि नाफा पनि पाउने ?’ किसानलाई उत्पादनको जिम्मा मात्रै थमाएर बजार बिचौलियाको जिम्मा छाड्ने हो भने यो समस्या झन् गहिरिँदै जान्छ । समाधान भनेको किसानलाई बजारको केन्द्रमा ल्याउनु हो । मूल्यको जानकारी, सिधा पहुँच, संगठित बिक्री र स्थानीय स्तरमै मूल्य संवर्धनको अवसर सिर्जना नगरेसम्म मनहरी, राक्सिराङ र कैलाशका खेतमा पसिना बगिरहनेछ, तर त्यो पसिनाको मूल्य अरूले बटुलिरहनेछन् ।
आज किसान बिचौलियाको चपेटामा छन् । तर सही नीति, इमानदार कार्यान्वयन र किसान केन्द्रित सोच भए, यही किसान मकवानपुरको आर्थिक मेरुदण्ड बन्न सक्छन् । प्रश्न इच्छाशक्तिको हो । किसानलाई केवल उत्पादनकर्ता बनाइराख्ने कि वास्तवमै समृद्धिको साझेदार बनाउने ? यो बिषयमा स्थानिय सरकारले उचित समाधान निकाल्न जरुरी छ

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.