भारतमा निपाह भाइरस देखिएपछि नेपाल उच्च जोखिममा, सीमा नाकामा कडा निगरानी

छिमेकी मुलुक भारतको पश्चिम बङ्गालमा घातक निपाह भाइरस पुष्टि भएपछि नेपालमा पनि यसको जोखिम बढेको स्वास्थ्य विज्ञहरूले चेतावनी दिएका छन्। चमेरा, बङ्गुरलगायत निपाह भाइरसका सम्भावित वहाक जनावर नेपालमा समेत पाइने भएकाले संक्रमणको खतरा उच्च रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार निपाह भाइरस नेपाल भित्रिन नदिन सतर्कता अपनाइएको छ। विमानस्थल, सीमा नाका तथा स्वास्थ्य संस्थाहरूलाई उच्च निगरानीमा राखिएको छ भने शङ्कास्पद लक्षण देखिएका व्यक्तिको नमुना संकलन गरी परीक्षण गर्न निर्देशन दिइएको छ।

उनका अनुसार सीमा नाकामा हेल्थ डेस्कलाई सक्रिय बनाइएको छ र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको छ। सम्भावित जोखिम न्यूनीकरणका लागि प्रदेश तथा स्थानीय तहसँग निरन्तर समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।
“निपाह भाइरसको जोखिम नेपालमा पनि उच्च छ, त्यसैले सीमा क्षेत्रमा शङ्कास्पद यात्रु पहिचान गरी आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएका छौँ,” डा. बुढाथोकीले बताए।

हालसम्म नेपालमा निपाह भाइरसको संक्रमण पुष्टि नभए पनि जोखिमलाई हल्का रूपमा लिन नहुने चिकित्सकहरूको भनाइ छ।

निपाह भाइरस कस्तो रोग हो ?

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार निपाह भाइरस पशुबाट मानिसमा सर्ने गम्भीर प्रकृतिको भाइरस हो, जुन विशेषगरी फलफूल खाने चमेरामा पाइन्छ। यो भाइरस जनावरबाट जनावर, जनावरबाट मानिस तथा मानिसबाट मानिसमा समेत सर्न सक्छ।

संक्रमित चमेरोबाट सुँगुर, गाई, गोरुजस्ता जनावर हुँदै मानिसमा संक्रमण फैलिन सक्ने भएकाले पशुपालनमा संलग्न व्यक्तिहरू उच्च जोखिममा रहने डा. पुन बताउँछन्। संक्रमित पशुको संसर्गमा आएको फलफूल खानु, संक्रमित व्यक्तिको रगत, दिसा–पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आउनु संक्रमणको प्रमुख कारण हुन्।

लक्षण र जोखिम

निपाह भाइरसका लक्षण अन्य भाइरससँग मिल्दोजुल्दो हुने भएकाले पहिचानमा कठिनाइ हुने चिकित्सक बताउँछन्। संक्रमण भएको ४ देखि १४ दिनभित्र ज्वरो, टाउको दुख्ने, रिङ्गटा लाग्ने, मांसपेशी दुख्ने, वाकवाकी, टन्सिलाइटिस र श्वासप्रश्वासमा समस्या देखिन सक्छ।

समयमै उपचार नपाएमा २४ देखि ४८ घण्टाभित्र निमोनिया, श्वासप्रश्वाससम्बन्धी जटिलता देखिएर बिरामी अचेत हुने र मृत्यु समेत हुन सक्ने जोखिम रहन्छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार निपाह भाइरसको मृत्युदर ४० देखि ७० प्रतिशतसम्म रहेको छ।

रोकथामका उपाय

हालसम्म निपाह भाइरसविरुद्ध विशेष खोप वा निश्चित उपचार उपलब्ध छैन। त्यसैले संक्रमण हुन नदिनु नै सबैभन्दा प्रभावकारी उपाय रहेको चिकित्सकहरूको सुझाव छ।

संक्रमित देशबाट फर्किएमा वा शङ्का लागेमा क्वारेन्टाइनमा बस्ने, फलफूल राम्ररी पखालेर खाने, तरकारी पकाएर खाने, पानी उमालेर पिउने, पशु फार्म सफा राख्ने, मासु काट्दा पञ्जा र मास्क प्रयोग गर्ने, हात साबुनपानीले बारम्बार धुने तथा भीडभाडमा मास्क लगाउन चिकित्सकहरूले आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.