मकवानपुर बाल हेल्पलाइनद्वारा नारायणगढ–मुग्लिन सडकखण्डका होटलबाट ६ बालबालिकाको उद्धार

बाल हेल्पलाइन मकवानपुरले नारायणगढ–मुग्लिन सडकखण्डमा सञ्चालित होटलहरूमा काम गराइँदै आएका ६ जना बालबालिकाको उद्धार गरेको छ। चितवनको इच्छाकामना गाउँपालिका क्षेत्रभित्र पर्ने दुई वटा होटलमा बालबालिका जोखिमपूर्ण अवस्थामा काम गरिरहेको सूचनाका आधारमा अनुगमन गर्दा उनीहरू फेला परेका हुन्।

बाल हेल्पलाइन मकवानपुरका प्रमुख झविन्द्र ज्ञवालीका अनुसार बालबालिकाको सुरक्षा र अधिकार सुनिश्चित गर्ने उद्देश्यले अनुगमन तीव्र बनाइएको थियो। माघ १७ गते आइतबार श्रम रोजगार कार्यालय हेटौँडा, स्थानीय प्रहरी तथा समाजसेवीहरूको संयुक्त टोलीले उक्त सडकखण्डमा रहेका करिब ३०० होटलको निरीक्षण गरेको थियो।

अनुगमनका क्रममा दुई होटलमा कार्यरत ६ जना बालबालिका भेटिएपछि तत्काल उद्धार गरिएको हो। उद्धार गरिएका बालबालिकामध्ये ३ जना पर्सा जिल्लाका र बाँकी ३ जना सोही क्षेत्रका रहेका छन्। उनीहरूमा २ जना बालिका र ४ जना बालक रहेका छन् भने उमेर ९ देखि १६ वर्षसम्म रहेको जनाइएको छ।

उद्धारपछि ती बालबालिकालाई सुरक्षित रूपमा हेटौँडा ल्याई बाल हेल्पलाइनको संरक्षणमा राखिएको प्रवक्ता ज्ञवालीले जानकारी दिए। हाल उनीहरूको अवस्था सुरक्षित रहेको र आवश्यक सहयोगको व्यवस्था भइरहेको छ।

घटनासँग सम्बन्धित होटल सञ्चालक तथा संलग्न व्यक्तिहरूको भूमिकाबारे स्थानीय प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक अनुसन्धानबाट बालअधिकार उल्लंघन पुष्टि भएमा कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।

बाल हेल्पलाइन मकवानपुरले बालश्रम, दुव्र्यवहार तथा जोखिममा परेका बालबालिकाको संरक्षणका लागि निरन्तर अनुगमन र उद्धार कार्य गर्दै आएको उल्लेख गर्दै यस्ता गतिविधिबारे जानकारी पाएमा तत्काल सम्बन्धित निकायमा खबर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.