भीमफेदी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) का उम्मेदवार महेश कुमार बर्तौलाले भीमफेदी क्षेत्रमा चुनावी अभियानलाई तीव्र बनाएका छन् । मकवानपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका बर्तौला गाउँपालिका भित्रका विभिन्न वडामा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाटमा जुटिरहेका छन् ।
सोमबार भीमफेदी–२ का भैंसे दोभान, आँपचौर, टिलटार, कालिटार, चुनियाँ तथा वडा नम्बर ३ र ४ अन्तर्गतका निबुवाटार र चिउरी बगैंचा टोलमा पुगेका बर्तौलाले आफू भीमफेदीकै छोरा भएको स्मरण गराउँदै पुनः समर्थनको आग्रह गरे । “म यहीँ हुर्किएको हुँ, नामटारमै पढेको हुँ,” उनले भने, “अघिल्लो पटक तपाईंहरूको विश्वासले संसद पुगेँ, तर संसद विघटनका कारण ३२ महिना मात्र काम गर्न पाएँ । बाँकी सपना पूरा गर्न फेरि तपाईंहरूको साथ चाहिएको छ ।”
आफ्नो कार्यकालबारे बोल्दै बर्तौलाले छोटो समयमा पनि कानुन निर्माणमा सक्रिय भूमिका खेलेको बताए । संसदमा पारित भएका २९ वटा कानुनमध्ये २६ वटामा आफू प्रत्यक्ष रूपमा संलग्न रहेको उनको दाबी थियो । “म कानुन निर्माण मेरो मुख्य दायित्व ठान्छु,” उनले भने, “तर सडक, पुल, खानेपानी र सिँचाइ जस्ता जनजीवनसँग जोडिएका विकासका काम पनि मसँग प्राथमिकतामै छन् ।”
भेटघाटका क्रममा स्थानीयवासीहरूले आ–आफ्ना समस्या र विकासका अपेक्षा राखेका थिए । भीमफेदी–२ बेशीकी राधिका विष्टले बागझोरा पुल र सडकका लागि बजेट विनियोजन भएकोमा खुसी व्यक्त गर्दै खोलाको कटानबाट खेत जोगाउन थप बजेटको माग गरिन् । भीमफेदी–३ इच्चुङका राम पाख्रीनले पान्द्राङ–इच्चुङ–बुढीचौर सडक स्तरोन्नति र विद्यालय सुधारका लागि बर्तौलाकै नेतृत्व आवश्यक रहेको बताए ।
एमाले भीमफेदी उपसचिव आशिष अस्लामीले सांसदको मुख्य भूमिका नीति निर्माण भएको कुरा जनतामाझ बुझाउनुपर्ने आवश्यकता औंल्याए । “धेरै मतदाताले टोल विकास र बजेटको कुरा गर्नुहुन्छ,” उनले भने, “सांसद विधायक पनि हो भन्ने बुझाउनुपर्ने अवस्था छ ।”
अभियानमा सहभागी समानुपातिक उम्मेदवार मेम्बर लो तामाङले बर्तौलालाई ‘बेदागी र क्षमतावान युवा नेता’ भन्दै प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे । जिल्ला कमिटी सदस्य सागर पाण्डेले एमालेको पक्षमा चुनावी माहोल बलियो बन्दै गएको दाबी गरे ।
सोही दिन बर्तौलाले चुनियाँस्थित उर्गेन याङफिल लिङ्ग बौद्ध गुम्बामा दर्शन गर्दै लामा गुरुसँग वाङ ग्रहण गरेका थिए । साँझ अबेरसम्म उनी मतदातासँग छलफलमै व्यस्त देखिन्थे ।
कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्य भगवती पुडासैनी, पूर्व उपाध्यक्ष पार्वती राना, जिल्ला कमिटी सदस्यहरू सानु थापा मगर, सागर पाण्डे, युवा परिचालन संयोजक बादल सिलवाल, स्थानीय अगुवा रमेश आचार्य, भोजराज बुढाथोकीलगायतको उपस्थिति रहेको थियो ।






















































