प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि आजदेखि नेपाली सेना परिचालन

फाइल तस्विर

प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित आजदेखि नेपाली सेना परिचालन गरिएको छ । निर्वाचन सुरक्षा व्यवस्थापनका लागि सरकारले तयार पारेको एकीकृत सुरक्षा योजना–२०८२ कार्यान्वयनमा आएसँगै सेनासहित सम्पूर्ण सुरक्षा निकाय परिचालनमा आएका हुन् ।

फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृत रूपमा परिचालित हुने सरकारको निर्णय छ । यसअघि नै मन्त्रिपरिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना–२०८२ स्वीकृत गरेको थियो ।

सुरक्षा योजनाअनुसार मतदानस्थलको भित्री सुरक्षा घेरा नेपाल प्रहरी र निर्वाचन प्रहरीले सम्हाल्नेछन् । दोस्रो तहको सुरक्षा घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ भने बाहिरी सुरक्षा घेराको जिम्मेवारी नेपाली सेनाले वहन गर्नेछ । निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका निर्वाचन प्रहरी पनि परिचालन हुनेछन् ।

नेपाली सेनाका अनुसार आजदेखि देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा सेना परिचालन हुनेछ । राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर ११ गते प्रधानमन्त्रीको सिफारिस र मन्त्रिपरिषद्को निर्णयअनुसार निर्वाचन सुरक्षाका लागि सेना परिचालन गर्न स्वीकृति दिनुभएको थियो ।

सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै आवश्यक स्थानमा सेनाको ‘वेस’ स्थापना गरिनेछ भने परिस्थितिअनुसार संयुक्त गस्ती पनि सञ्चालन गरिनेछ । सेनाले करिब ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ ।

एकीकृत सुरक्षा योजनाले निर्दिष्ट गरेअनुसार सेनाले मतपत्र छपाइदेखि ढुवानी, मतदानस्थल सुरक्षा, मतपेटिका ढुवानी तथा मतगणनास्थलको सुरक्षासम्मको जिम्मेवारी सम्हाल्नेछ । साथै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको समन्वयमा विमानस्थल, कारागार तथा अन्य महत्वपूर्ण संरचनाको सुरक्षा जिम्मेवारी पनि सेनाले लिनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.