निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलहरूले निर्वाचन प्रयोजनका लागि शुभेच्छुक र समर्थकबाट स्वेच्छिक सहयोग लिन पाउने स्पष्ट पारेको छ। तर सहयोग संकलन गर्दा प्रचलित कानूनको पालना अनिवार्य हुने आयोगले जनाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन प्रचार–प्रसारका नाममा कसैसँग पनि निश्चित रकम तोकेर चन्दा माग्न नपाइने स्पष्ट गर्नुभयो। उम्मेदवार तथा दलले निर्वाचनका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै उहाँले उक्त खातामा जम्मा भएको रकम व्यक्तिगत प्रयोजनमा खर्च गर्न नपाइने बताउनुभयो।
प्रवक्ता भट्टराईका अनुसार शुभेच्छुकले स्वेच्छाले दिन चाहेको सहयोग मात्र निर्वाचन प्रयोजनका लागि खोलिएको खातामार्फत लिन सकिनेछ। यसरी संकलित रकमको दुरुपयोग भए कानुनअनुसार कारबाही हुने आयोगको चेतावनी छ।
यसैबीच निर्वाचन आयोगले आगामी निर्वाचनका लागि आवश्यक मतपत्र छपाई कार्यलाई तीव्र बनाएको छ। हालसम्म ८४ लाख ४० हजार थान मतपत्र छपाई सम्पन्न भइसकेको र तीमध्ये ७ हजार १३७ वटा बाकसमा प्याकिङ गरिसकिएको आयोगले जानकारी दिएको छ।
आयोगका अनुसार हालसम्म ३२ जिल्लाका लागि आवश्यक मतपत्र छपाई तथा प्याकिङ कार्य पूर्ण भएको छ भने बाँकी जिल्लाका लागि पनि काम युद्धस्तरमा भइरहेको छ।























































