मकवानपुरमा राजनीतिक फेरबदलको क्रम जारी रहँदा एमाले निकट मजदुर संगठन नेस्वमयु मकवानपुरका संस्थापक अध्यक्ष नारायण देउलासहित ६ जना नेता–कार्यकर्ता नेकपामा प्रवेश गरेका छन्। देउला अखिल नेपाल ट्रेड युनियन महासंघ (ANTUF) का केन्द्रीय उपाध्यक्षसमेत रहिसकेका छन्।
उनीसँगै बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीसँग आबद्ध शसिकला विश्वकर्मा, गंगा विश्वकर्मा, ममता नेपाली, सोममाया लामा र मनिता कार्कीले पनि नेकपा रोजेका हुन्।
आयोजित स्वागत कार्यक्रममा नेकपाका केन्द्रीय तथा जिल्ला तहका नेताहरूले नवप्रवेशीहरूलाई औपचारिक रूपमा पार्टीमा स्वागत गरेका थिए। सो अवसरमा नवप्रवेशीहरूले नेकपाको नीति, विचारधारा र नेतृत्वप्रति आकर्षित भएर पार्टीमा आबद्ध भएको बताएका छन्।
कार्यक्रममा नेकपा मकवानपुरका नेताहरूले नयाँ सदस्यहरूको आगमनले संगठन थप सुदृढ हुने विश्वास व्यक्त गर्दै श्रमिक, महिला र युवाहरूको अधिकारका पक्षमा पार्टी निरन्तर संघर्षरत रहने धारणा राखेका थिए।
























































