कैलाश गाउँपालिकामा सम्पन्न माध्यमिक विद्यालयस्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भवानी माध्यामिक विद्यालयले जितेको छ। लगातार तेस्रो पटक सर्वाधिक पदक हात पार्दै भवानी माविले यस वर्ष पनि शिल्ड आफ्नो कब्जामा पार्न सफल भएको हो। प्रतियोगितामा भवानी माविले ८ स्वर्ण, ३ रजत र ६ कास्य पदक जित्दै प्रथम स्थान हासिल गर्यो। ५ स्वर्ण, ५ रजत र ५ कास्य पदकसहित रत्नज्योति माध्यामिक विद्यालय दोस्रो स्थानमा रह्यो भने ४ स्वर्ण, ५ रजत र ४ कास्य पदकसहित कालिका माध्यामिक विद्यालय तेस्रो बन्न सफल भयो।
प्रतियोगितामा एथ्लेटिक्सतर्फ विभिन्न विधाका खेल सञ्चालन गरिनुका साथै छात्रछात्रा भलिबल प्रतियोगिता पनि सम्पन्न गरिएको थियो। छात्रतर्फको भलिबलमा रत्नज्योति माविले कमलादेवी माध्यामिक विद्यालयलाई १९–२५, २५–२३, १५–११ को सेटमा पराजित गर्दै उपाधि जित्यो भने भवानी मावि तेस्रो स्थानमा रह्यो। छात्रातर्फ कमलादेवी मावि प्रथम, भवानी मावि दोस्रो र कालिका मावि तेस्रो भए। एथ्लेटिक्सका सय मिटर, दुई सय मिटर, आठ सय मिटर दौड, ४ गुणा १ सय रिले, लङजम्प, हाइजम्प, ट्रिपलजम्प, सटपुट तथा ज्याभलिन थ्रो लगायतका विधामा विद्यार्थीहरूले उत्कृष्ट प्रतिस्पर्धा गरेका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज ओझाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले विद्यार्थी जीवनदेखि नै खेलकुदप्रति आकर्षण बढाउन सके युवापुस्तामा अनुशासन र सकारात्मक सोचको विकास हुने बताए। गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले खेलकुदले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे। कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत समीर जोशी, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा निर्णायकहरूको उपस्थिति रहेको थियो।























































