चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारी निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक नतिजाअनुसार महिला उपसभापति, महामन्त्री तथा सहमहामन्त्रीका पदमा नयाँ नेतृत्व चयन भएको हो।
महिला उपसभापतिमा सोबिता गौतम विजयी भएकी छन्। उनले ७८९ मत प्राप्त गर्दै प्रतिस्पर्धी डा. तोसिमा कार्कीलाई पराजित गरिन्। कार्कीले ५७२ मत प्राप्त गरेकी छन्।
महामन्त्री पदमा विपिनकुमार आचार्य ६७३ मतसहित निर्वाचित भएका छन्। यसअघि सहमहामन्त्रीको जिम्मेवारी सम्हालिरहेका आचार्य अब पार्टीको प्रमुख संगठनात्मक जिम्मेवारीमा पुगेका छन्।
सहमहामन्त्री (खुला) तर्फ असिम शाह र हरि ढकाल विजयी भएका छन्। शाहले ४७१ मत प्राप्त गर्दा ढकालले ४१० मतसहित पद सुरक्षित गरेका हुन्।
यस्तै, महिला सहमहामन्त्री पदमा निशा डाँगी ७३७ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्।
यसअघि उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध चयन भइसकेका थिए। पछिल्लो मतपरिणामसँगै रास्वपाले महाधिवेशनमार्फत अधिकांश केन्द्रीय पदाधिकारीको चयन प्रक्रिया सम्पन्न गरेको छ। नवनिर्वाचित पदाधिकारीहरूले अब पार्टीको संगठन विस्तार, नीति निर्माण र आगामी निर्वाचनको तयारीलाई अगाडि बढाउने जिम्मेवारी सम्हाल्नेछन्।
























