रास्वपाको पहिलो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको छ। चितवनमा चार दिनसम्म चलेको महाधिवेशनले आगामी कार्यकालका लागि पार्टीको नेतृत्व, नीति र संगठनात्मक दिशा तय गरेको हो।

महाधिवेशनबाट पार्टीका सभापतिमा रवि लामिछाने र उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। महिला उपसभापतिमा भएको प्रतिस्पर्धामा सोविता गौतम विजयी हुँदा तोसिमा कार्की पराजित भइन्। त्यस्तै, महामन्त्रीमा विपिन आचार्य निर्वाचित भए। उक्त पदका लागि मनिष झा, सागर ढकाल र गणेश कार्की पनि प्रतिस्पर्धामा थिए।

सहमहामन्त्री (खुला) पदमा हरि ढकाल र असिम शाह तथा महिला सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित भएका छन्। नवनिर्वाचित पदाधिकारीले सोमबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

यसअघि महाधिवेशनले ९९ जना केन्द्रीय सदस्य चयन गरिसकेको छ। यद्यपि, वरिष्ठ नेता, प्रवक्ता, सहप्रवक्ता, कोषाध्यक्ष, सहकोषाध्यक्षसहित १२ जना पदाधिकारी र ५१ जना केन्द्रीय सदस्य भने मनोनयनमार्फत चयन गर्न बाँकी रहेको पार्टीले जनाएको छ।

पार्टी स्थापना भएको चार वर्षपछि पहिलो महाधिवेशन सम्पन्न गरेको रास्वपाले यससँगै आफ्नो संगठनलाई थप संस्थागत बनाउने आधार तयार पारेको छ। यद्यपि, महाधिवेशन अवधिभर व्यवस्थापन कमजोर भएको, मतदान प्रक्रिया र केही निर्णयमा पारदर्शिताको अभाव देखिएको भन्दै पार्टीभित्रैबाट असन्तुष्टिका आवाज पनि उठेका छन्।

नयाँ नेतृत्व चयनसँगै अब रास्वपाले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्दै संगठन विस्तार र आगामी राजनीतिक रणनीतिमा केन्द्रित हुने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.