चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट विपिन आचार्य महामन्त्रीमा निर्वाचित भएका छन्। यसअघि सहमहामन्त्रीको जिम्मेवारी सम्हालिरहेका आचार्यले पदोन्नतिसँगै पार्टीको संगठनात्मक नेतृत्व सम्हाल्ने भएका हुन्।
निर्वाचित भएपछि आचार्यले महाधिवेशन व्यवस्थापकीय कमजोरीका कारण तय गरिएको तीन दिनको कार्यक्रम पाँच दिनभन्दा बढी लम्बिएको स्वीकार गर्दै पार्टी सदस्य तथा प्रतिनिधिसमक्ष माफी मागेका छन्।
उनले नेपाली जनताले रास्वपालाई दिएको विश्वास र जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। नागरिकप्रति उत्तरदायी, विधिसम्मत र पारदर्शी ढंगले पार्टी सञ्चालनमा आफ्नो भूमिका रहने उनको भनाइ थियो।
‘महामन्त्रीका रूपमा पार्टीमा इमान्दार योद्धाका रूपमा काम गर्नेछु। पार्टीलाई विधि, पारदर्शिता र ऐक्यबद्धताको मार्गमा अघि बढाउन मेरो विशेष ध्यान रहनेछ,’ उनले भने।
आचार्यले संगठनात्मक सुधारलाई प्राथमिकतामा राख्दै स्थानीय तहमा योग्य उम्मेदवार छनोट गर्ने प्रणाली विकास गर्न पहल गर्ने बताए। पार्टी सञ्चालनको शैलीले सरकार सञ्चालनमा समेत प्रभाव पार्ने भएकाले त्यसतर्फ पनि आफूले विशेष ध्यान दिने उनको भनाइ छ।
























