पर्सि बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि मौन अवधि सुरु भएको छ। गएराति १२ बजेसँगै राजनीतिक दल र उम्मेदवारहरूको प्रचारप्रसार औपचारिक रूपमा समाप्त भएको हो।
निर्वाचन आयोग नेपालले फागुन ४ गतेदेखि प्रचारका लागि दिएको समयसीमा राति १२ बजेपछि सकिएको जनाएको छ। अब मतदान सम्पन्न नभएसम्म, अर्थात् ४८ घण्टे मौन अवधिभर कुनै पनि किसिमको चुनावी गतिविधि गर्न पाइने छैन।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार यस अवधिमा मत माग्ने, सभा–भेला गर्ने, सामाजिक सञ्जाल वा एसएमएसमार्फत प्रचार गर्ने, आर्थिक प्रलोभन दिने वा चुनावलाई प्रभाव पार्ने कुनै पनि गतिविधि गरे कडा कारबाही हुनेछ। उल्लंघन प्रमाणित भए उम्मेदवारी खारेज हुनुका साथै ६ वर्षसम्म निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था रहेको छ।
मौन अवधिमा दल तथा उम्मेदवारका गतिविधि अनुगमन गर्न घुम्ती टोली परिचालन गरिएको छ। यसबीच मतदान केन्द्रको तयारी, मतदाता लाइन व्यवस्थापन र शान्ति–सुरक्षाको मूल्याङ्कनलाई प्राथमिकता दिइने आयोगले जनाएको छ।
निर्वाचन आचारसंहिताअनुसार मौन अवधि सुरु हुनुअघि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका चुनाव चिह्न तथा प्रचार सामग्री हटाइसक्नुपर्ने प्रावधान छ। साथै, उम्मेदवार वा दलको पक्षमा समाचार, सूचना वा प्रचार सामग्री प्रकाशन तथा प्रसारण गर्न पनि निषेध गरिएको छ।
विश्वका विभिन्न देशमा २४ देखि ७२ घण्टासम्म मौन अवधि कायम गर्ने अभ्यास रहेकामा नेपालमा ४८ घण्टाको व्यवस्था लागू गरिएको हो।























































