प्रधानमन्त्री सुशीला कार्की ले महिलाको अधिकार, न्याय र समान अवसर सुनिश्चित नगरेसम्म समतामूलक समाज निर्माण सम्भव नहुने बताएकी छन्। ११६औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आइतबार सिंहदरबारमा आयोजित कार्यक्रममा उनले महिलाको अर्थपूर्ण र गुणस्तरीय सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्।
प्रधानमन्त्री कार्कीले अन्तर्राष्ट्रिय महिला दिवस केवल उत्सव नभई महिलाको अधिकार, समानता र सम्मानका लागि भएको ऐतिहासिक संघर्षको स्मरण गर्ने दिन भएको उल्लेख गरिन्। उनले नेपालमा ‘सबै महिला र बालिकाको अधिकार, न्याय र अवसर सुनिश्चित गरौँ’ भन्ने राष्ट्रिय संकल्पसहित महिला दिवस मनाइएको जानकारी दिइन्।
उनले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनलाई नेपाली जनताको विजयको रूपमा उल्लेख गर्दै लोकतान्त्रिक प्रक्रियाबाट देशले संवैधानिक निकास प्राप्त गरेको बताइन्। निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्न योगदान दिने नागरिक, निर्वाचन आयोग, सुरक्षाकर्मी, राजनीतिक दल र अन्य सरोकारवालाप्रति उनले आभार व्यक्त गरिन्।
प्रधानमन्त्री कार्कीले संविधानले महिला अधिकारलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको र समान प्रतिनिधित्व, समावेशी सहभागिता तथा सामाजिक न्यायलाई राज्य व्यवस्थाको आधार बनाएको उल्लेख गरिन्। पछिल्ला वर्षहरूमा स्थानीय तहदेखि संघीय संसदसम्म महिलाको प्रतिनिधित्व उल्लेखनीय रूपमा बढेको पनि उनले बताइन्।
तर उनले अझै महिलाहरू विभेद, असमान अवसर र लैङ्गिक हिंसाबाट पूर्ण रूपमा मुक्त नभएको भन्दै दलित, मधेस, कर्णाली र सीमान्तकृत समुदायका महिलाको अवस्था चुनौतीपूर्ण रहेको प्रष्ट पारेकी छन्।
प्रधानमन्त्री कार्कीले शिक्षा, स्वास्थ्य, रोजगारी र नेतृत्व तहमा महिलाको पहुँच विस्तार गर्न राज्यले विभिन्न नीति र कार्यक्रम लागू गरेको उल्लेख गर्दै, सबै सरोकारवालाको साझा प्रयास आवश्यक रहेको धारणा व्यक्त गरिन्। उनले महिलाले सम्मान, सुरक्षा र समान अवसर पाए मात्र लोकतन्त्र सुदृढ हुने र संविधानको मर्म कार्यान्वयन हुने भन्दै समृद्ध र न्यायपूर्ण नेपाल निर्माणका लागि सबैलाई हातेमालो गर्न आह्वान गरिन्।























































