ट्रम्पको टिप्पणीपछि तेलको मूल्यमा गिरावट

एसियाली मुलुकहरूमा मंगलबार बिहानको कारोबारमा विश्वव्यापी कच्चा तेलको मूल्य घटेको छ । ब्रेन्ट कच्चा तेलको मूल्य करिब ८.५ प्रतिशतले घटेर प्रति ब्यारेल ९२.५० डलर पुगेको छ भने अमेरिकामा कारोबार हुने तेलको मूल्य पनि झण्डै ९ प्रतिशत घटेर प्रति ब्यारेल ८८.६० डलरमा झरेको छ ।

यद्यपि, हालको मूल्य अझै पनि युद्ध सुरु भएको समयको तुलनामा करिब ३० प्रतिशत बढी रहेको बताइएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार युद्ध ‘छिट्टै अन्त्य हुने’ टिप्पणी गरेपछि तेलको मूल्य घट्न थालेको बीबीसीले जनाएको छ ।

तेलको मूल्य घटेपछि एसियाली सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ ।

यसअघि तेलको मूल्य तीव्र रूपमा बढ्दा खाडी मुलुकबाट धेरै तेल आयात गर्ने एसियाली देशका बजारहरूमा ठूलो दबाब परेको थियो ।

यसैबीच ट्रम्पले इरानलाई विश्वव्यापी तेल आपूर्ति मार्ग अवरुद्ध नगर्न चेतावनी दिएका छन् । उनले स्ट्रेट अफ हर्मुजमा जहाज आवागमन अवरुद्ध गरे अमेरिकाले इरानमाथि पहिलाभन्दा २० गुणा कडा प्रहार गर्ने चेतावदी दिएका हुन् ।

ट्रम्पले अनलाइन वक्तव्य जारी गर्दै इरानले तेलको प्रवाह रोक्ने कुनै कदम चाले अमेरिकाले सजिलै नष्ट गर्न सकिने लक्ष्यहरूमा आक्रमण गर्ने र त्यसले इरानलाई पुनः राष्ट्रका रूपमा उभिन असम्भव बनाउने चेतावनी दिएका छन् । उनले यस्तो अवस्थामा ‘मृत्यु, आगो र भीषण आक्रमण’ हुने बताएका छन् ।

विश्वको करिब २० प्रतिशत तेल आपूर्ति यही मार्गबाट हुने भएकाले युद्धका कारण यहाँको समुद्री यातायातमा ठूलो कमी आएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.