हेटौंडा। मकवानपुरको मकवानपुरगढी गाउँपालिका–१ लेनडाँडा स्थित कान्तिलोकपथ सडक खण्डमा दुई ट्रक आपसमा ठोक्किँदा एक चालक गम्भीर घाइते भएका छन्।
शुक्रबार राति करिब ११ः३५ बजे हेटौंडाबाट काठमाडौँतर्फ जाँदै गरेको म.प्र. ०३–००२ ख ४६४१ नम्बरको सिमेन्ट बोकेको ट्रक र काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको म.प्र. ०३–००२ ख ४५०१ नम्बरको खाली ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
दुर्घटनामा सिमेन्ट लोड ट्रकका चालक सिन्धुलीको दुधौली नगरपालिका–१४ निवासी करिब २४ वर्षीय टुल्कु सिंह तामाङ गम्भीर घाइते भएका छन्। बाहिरी चोट खासै नदेखिए पनि अवस्था गम्भीर देखिएपछि उनलाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनापछि घटनास्थलमा पुगेको टोलीले अर्को ट्रकका चालक मकवानपुरको बागमती गाउँपालिका–७ निवासी करिब ४३ वर्षीय बेलकुमार स्याङतानलाई नियन्त्रणमा लिएको छ।
दुर्घटनामा संलग्न दुवै ट्रक घटनास्थलमै रहेको र सडक एकतर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
















