काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पत्ति छानबिन आयोगलाई आफूले कुनै पनि प्रकारको बयान नदिने र सम्पत्ति विवरणसमेत पेश नगर्ने बताएका छन्।
एक कार्यक्रममा बोल्दै ओलीले आयोगको वैधानिकता नै अस्वीकार गर्ने स्पष्ट पारे। उनले आयोगलाई मान्यता नदिने भन्दै त्यसको प्रक्रियामा सहभागी नहुने बताए।
“यस्ता आयोगलाई हामी मान्यता दिँदैनौँ। अरू कसैले बयान दिए पनि म चाहिँ बयान दिन्नँ,” ओलीले भने, “त्यसमा सम्पत्ति विवरण भरेर पठाइदिनँ। जे–जे गर्न सक्छ, गरोस्।”
ओलीले उक्त आयोग विपक्षी राजनीतिक शक्तिलाई लक्षित गरेर गठन गरिएको आरोप लगाए। उनका अनुसार आयोग निष्पक्ष निकाय नभई पूर्वाग्रह र प्रतिशोधको भावनाबाट प्रेरित छ।
“यो राज्य राज्य होइन, पूर्वाग्रहको पोको हो, प्रतिशोधको पोको हो,” उनले भने, “विपक्षीलाई फसाउन यस्ता क्रियाकलाप गरिएको छ।”
सम्पत्ति विवरणका विषयमा बोल्दै ओलीले आफ्नो सम्पत्ति नै नष्ट भइसकेको दाबी गरे। “मेरो सम्पत्ति विवरण खरानी भरिदिने मैले ? आगो लगाएर पुगेन, फेरि सम्पत्ति विवरण चाहियो ? खरानी छ, उठाएर लैजा सरकार,” उनले व्यंग्यात्मक शैलीमा भने।
ओलीको यस अभिव्यक्तिले सम्पत्ति छानबिन आयोगको भूमिका, अधिकार र राजनीतिक उद्देश्यबारे थप बहस उत्पन्न गरेको छ।

















