हेटौँडामा आयोजित एक साहित्यिक कार्यक्रममा नवोदित स्रष्टा सुमि थिङको मुक्तक सङ्ग्रह ‘जीवनको गोरेटो’ सार्वजनिक गरिएको छ। नवसर्जक साहित्य चौतारी नेपालको ४२औँ मासिक शृङ्खलाको अवसरमा उक्त कृतिको विमोचन तथा विमर्श कार्यक्रम सम्पन्न गरिएको हो।
अमर मावि हेटौँडामा कक्षा ९ मा अध्ययनरत १४ वर्षीया सुमि थिङको यो पहिलो कृतिका रूपमा ‘जीवनको गोरेटो’ प्रकाशनमा आएको हो। कार्यक्रम नवसर्जक साहित्य चौतारी नेपालकी केन्द्रीय महासचिव स्वस्तिका दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो भने हेटौँडा उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष तथा नगर प्रवक्ता सविन न्यौपाने प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा साहित्यकार डा. निमेष निखिल र देवराज खरेल विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
विमोचित कृतिमाथि साहित्यकार सानु खनाल र विविशा रुम्बाले समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए। कार्यक्रममा नवसर्जकहरू रोज कार्की र नम्रता पराजुलीले कृतिमा समेटिएका प्रतिनिधि मुक्तक वाचन गरेका थिए।
नवसर्जक साहित्य चौतारी नेपालका सल्लाहकार तथा अमर माविका सहायक प्राचार्य डि.बी. बर्तौलाको सम्पादनमा प्रकाशित उक्त कृति नवसर्जक साहित्य चौतारी नेपाल केन्द्रीय समितिले प्रकाशन गरेको हो।
कार्यक्रममा डा. निमेष निखिल, देवराज खरेल, अमर माविकी प्राचार्य मालती उप्रेती, चौतारीका संरक्षक दीपक गौतम, सल्लाहकार डि.बी. बर्तौला तथा मुक्तक मञ्च मकवानपुरका अध्यक्ष सागर तिमल्सिनाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
चौतारीकी उपमहासचिव रचना भण्डारीको सहजीकरण तथा कोषाध्यक्ष प्रविना प्रयासीको स्वागत मन्तव्यसहित सम्पन्न कार्यक्रममा कृतिकारकी आमा सुमित्रा थिङसहित हेटौँडा तथा आसपासका क्षेत्रबाट ६० भन्दा बढी साहित्यकार र साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो।
नवसर्जक साहित्य चौतारी नेपालले देशभर २५ वर्षमुनिका सर्जकहरूलाई समेट्दै पठन–पाठन तथा सिर्जनशील लेखन संस्कृतिको विकासमा काम गर्दै आएको र आगामी दिनमा पनि नवसर्जकका कृति प्रकाशनलाई निरन्तरता दिइने महासचिव स्वस्तिका दाहालले जानकारी दिइन्।























































