रास्वपाले नवनिर्वाचित सांसदलाई दुई दिने अभिमुखीकरण प्रशिक्षण दिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि दुई दिने अभिमुखीकरण प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। प्रशिक्षण आगामी चैत ३ र ४ गते काठमाडौँमा सञ्चालन हुने पार्टीले जनाएको छ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार कार्यक्रममार्फत सांसदहरूलाई संसदीय प्रक्रिया, पार्टीको नीति तथा जनसरोकारका विषय संसद्मा प्रभावकारी रूपमा उठाउने तरिकाबारे जानकारी दिइनेछ। नयाँ सांसदहरूले आफ्नो जिम्मेवारी र संसदीय भूमिकाबारे स्पष्ट बुझ्न सकून् भन्ने उद्देश्यले यस्तो प्रशिक्षण आयोजना गरिएको उनले बताए।

रास्वपाले सबै नवनिर्वाचित सांसदहरूलाई चैत ३ गते बिहान ९ बजेसम्म काठमाडौँ उपत्यकाभित्र तोकिएको स्थानमा उपस्थित हुन निर्देशन दिएको छ। प्रशिक्षण कार्यक्रम सोही दिन बिहान १० बजेदेखि औपचारिक रूपमा सुरु हुनेछ।

कार्यक्रममा संसदीय अभ्यास र नीति निर्माणसँग सम्बन्धित विभिन्न विषयमा विज्ञहरूले प्रशिक्षण दिने तयारी गरिएको छ। पार्टीले यसलाई आफ्नो संसदीय यात्राको महत्वपूर्ण तयारीका रूपमा लिएको जनाएको छ।

महामन्त्री बुर्लाकोटीले कार्यक्रमको समय तालिका अनुसार तयारी अवस्थामा रहन सबै सांसदहरूलाई आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.