हेटौंडामा राष्ट्रिय महिला भलिबल सुरु: ६ टोली उपाधिका लागि प्रतिस्पर्धामा

हेटौंडाको टिसिएन चौरमा जारी खेलकुद, कृषि तथा पर्यटन महोत्सवअन्तर्गत आज बुधबारदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ। महोत्सवका विभिन्न ६ खेल विधामध्ये यो प्रतियोगिता प्रमुख आकर्षणका रूपमा अघि बढाइएको हो।

प्रतियोगितामा देशका विभिन्न क्षेत्रबाट ६ टोलीले सहभागिता जनाएका छन्। सहभागी टोलीहरूमा न्यू डाइमण्ड स्पोर्टस् क्लब काठमाडौं, जिल्ला भलिबल संघ मकवानपुर, स्टेप भलिबल क्लब लुम्बिनी प्रदेश, केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान हेटौंडा, ब्राइट फ्युचर स्पोर्टस् क्लब कोशी प्रदेश र जनशक्ति युवा क्लब मधेश प्रदेश रहेका छन्।

आयोजकले तय गरेको तालिका अनुसार उद्घाटन खेल जिल्ला भलिबल संघ मकवानपुर र स्टेप भलिबल क्लबबीच हुनेछ, जसले प्रतियोगिताको रोमाञ्चक सुरुवात गर्ने अपेक्षा गरिएको छ।

उपाधि जित्ने टोलीले ३ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २ लाख रुपैयाँ पाउनेछन्। सेमिफाइनलसम्म पुग्ने दुई टोलीलाई समान ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै, प्रतियोगिताका उत्कृष्ट खेलाडी र विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

महोत्सवअन्तर्गत यसअघि विभिन्न जिल्लास्तरीय खेलकुद कार्यक्रमहरू सम्पन्न भइसकेका छन् भने राष्ट्रिय महिला भलिबल प्रतियोगिता ८ गतेसम्म चल्नेछ। त्यसपछि कराँते र तेक्वान्दोका प्रतियोगिताहरू पनि आयोजना गरिनेछन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.