हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली देखिएको छ भने तराई क्षेत्रमा आंशिक बदलीको अवस्था कायम रहेको छ।
आज दिउँसो विशेषगरी पहाडी र हिमाली भेगमा बदली रहने र केही स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ। कोशी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। उच्च हिमाली क्षेत्रमा भने हल्का हिमपातको सम्भावना रहेको छ।
रातिको समयमा हिमाली क्षेत्रमा सामान्य बदली कायम रहनेछ भने अन्य पहाडी भूभागमा आंशिक बदली रहने मौसमविद्ले बताएका छन्। तराई क्षेत्रको मौसम भने प्रायः सफा रहने अपेक्षा गरिएको छ।
यसैगरी, कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा राति पनि एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।























































