थाहा नगरमा मोक्षधाम निर्माण अभियान सुरु: शङ्खमूलमा १०८ धारा निर्माण तीव्र

थाहा नगरपालिका मा ऐतिहासिक तथा धार्मिक महत्व उजागर गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित मोक्षधाम निर्माण अभियान सुरु गरिएको छ। “आरोग्य नगर” स्थापना गर्ने दीर्घकालीन लक्ष्यसहित शङ्खमूल क्षेत्रमा योजना अघि बढाइएको हो।

मोक्षधाम शङ्खमूल नेपालका संरक्षक तथा नगर प्रमुख विष्णु बहादुर बिष्ट, उपप्रमुख भरत गोपाली र अध्यक्ष गुप्त बहादुर कार्की को नेतृत्वमा २९ सदस्यीय कार्यसमिति गठन गरिएको छ। समितिमा सचिवका रूपमा अनिल लामिछाने रहेका छन् भने विभिन्न व्यक्तित्वहरू सल्लाहकारका रूपमा आबद्ध छन्।

परियोजनाको पहिलो चरणअन्तर्गत थाहा–३ शङ्खमूलमा शङ्खको मुखबाट पानी झर्ने १०८ धारा निर्माण कार्य तीव्र रूपमा अघि बढाइएको छ। समितिका अनुसार एउटा धारा निर्माण गर्न करिब ४० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

यसैबीच, नगरपालिकामा बसेको बैठकमार्फत आजीवन सदस्यता शुल्क ५१०० रुपैयाँ तोकिएको छ भने इच्छुक व्यक्तिहरूले एक धारा निर्माणका लागि ४० हजार रुपैयाँ सहयोग गर्न सक्ने व्यवस्था गरिएको छ। यस अभियानलाई औपचारिक रूपमा सुरु समेत गरिएको छ।

समितिले सहयोगीहरूको नाम सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने र मोक्षधाम स्थलमा पितृको स्मरणसहित शिलालेखमा नाम अंकित गरिने जनाएको छ। साथै, परियोजना सम्पन्न भएपछि प्रकाशित हुने ऐतिहासिक तथा धार्मिक पुस्तकमा पनि सहयोगीहरूको नाम समावेश गरिने जानकारी दिइएको छ।

मोक्षधाम निर्माणले धार्मिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय क्षेत्रको पहिचान स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.