नेपालले साफ २० वर्षमुनिको च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। माल्दिभ्सको मालेमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानलाई २–१ ले पराजित गरेको हो।
नेपालका लागि सुजन डंगोल र सुवास बमले एक–एक गोल गर्दै टोलीलाई जित दिलाए। भुटानका ढेन्डुप गेल्टशेनले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। खेलको १४औँ मिनेटमै भुटानका खेलाडी थिन्ले एजर दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि भुटान १० खेलाडीमा सीमित भएको थियो।
यस जितसँगै नेपालले प्रतियोगितामा ३ अंक जोडेको छ। नेपाल समूह ‘ए’ मा आयोजक माल्दिभ्स, भुटान र श्रीलंकासँग रहेको छ। राउन्ड रोबिन लिगपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
नेपालले अब आफ्नो दोस्रो खेल बुधबार श्रीलंकाविरुद्ध खेल्नेछ।
प्रतिकृया दिनुहोस्















