मकवानपुरको मनहरी गाउँपालिकामा प्रहरीले ठूलो परिमाणको लागुऔषध गाँजासहित एक हात्ती गाडी नियन्त्रणमा लिएको छ। नियमित निगरानीका क्रममा गरिएको चेकजाँचबाट उक्त सफलता हात परेको हो।
आज बिहान करिब ६:१० बजे इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले मनहरी–९ स्थित हरियाली सामुदायिक जंगलको भित्री सडकमा शंकास्पद रूपमा आउँदै गरेको गाडी रोकेर जाँच गरेको थियो। जाँचका क्रममा बा.१३ च २०१४ नम्बरको हात्ती गाडीमा लोड गरिएको अवस्थामा २७ प्याकेट गाँजा फेला परेको प्रहरीले जनाएको छ।
उक्त गाडी राक्सिराङ गाउँपालिका–१ भाबरबाट मनहरी–९ खरंगा हुँदै पूर्व–पश्चिम राजमार्गतर्फ आउँदै गरेको बताइएको छ। बरामद गाँजाको तौल गर्दा १७१ किलो २१ ग्राम रहेको पुष्टि भएको छ।
प्रहरीले गाडी चालक राक्सिराङ गाउँपालिका–४ का करिब २० वर्षीय अक्कलप्रसाद स्याङतानलाई नियन्त्रणमा लिएको छ। हाल उनलाई गाडी सहित इलाका प्रहरी कार्यालय मनहरीमा राखी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
यस घटनाले क्षेत्रमा लागुऔषध ओसारपसारको गतिविधि सक्रिय रहेको संकेत गरेको भन्दै प्रहरीले निगरानी अझ कडाइ गर्ने बताएको छ।















