बागमती प्रदेशलाई खेलकुदमैत्री बनाउने लक्ष्य, मन्त्री उर्मीला नेपालको जोड

हेटौंडामा जारी दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवको अवसरमा बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मीला नेपालले प्रदेशलाई खेलकुदमैत्री बनाउने स्पष्ट लक्ष्य सार्वजनिक गरेकी छन्। टिसीएन चौरमा सुरु भएको प्रथम आमन्त्रित तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकुद पूर्वाधार विस्तार र वातावरण निर्माणमा सरकार केन्द्रित हुने बताइन्।

मन्त्री नेपालका अनुसार प्रदेश सरकारले नयाँ प्रतिभाशाली खेलाडीहरूको पहिचान गरी उनीहरूलाई राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्म प्रतिस्पर्धा गर्न सक्षम बनाउने योजना अघि बढाएको छ। “एक स्थानीय तह, एक खेल पूर्वाधार” कार्यक्रमलाई प्राथमिकतामा राखिएको उनले उल्लेख गरिन्। साथै, निर्माणाधीन खेलकुद नीतिले खेलाडीको पहिचान, प्रोत्साहन र भविष्य सुनिश्चित गर्न सहयोग पुग्ने दाबी पनि गरिन्।

उनले खेलकुदले युवालाई गलत गतिविधिबाट टाढा राख्दै सकारात्मक ऊर्जा राष्ट्र निर्माणमा प्रयोग गर्न प्रेरित गर्ने बताइन्। अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीले झण्डा फहराउँदा राष्ट्रिय एकता अझ सुदृढ हुने उनको भनाइ थियो।

प्रदेश सरकारले खेलाडीप्रति संवेदनशील रहेको उल्लेख गर्दै उनले उचित व्यवस्थापनको अभावका कारण खेलाडीले अपेक्षित अवसर नपाएको स्वीकार गरिन्। आगामी दिनमा यो कमी सुधार्ने प्रतिबद्धता व्यक्त गर्दै उनले प्रदेशस्तरीय खेलकुद तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता छिट्टै आयोजना गरिने जानकारी दिइन्।

मकवानपुर जिल्ला तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगितामा ११ जिल्लाका टोलीहरूको सहभागिता रहेको छ। प्रतियोगिता शुक्रबारसम्म सञ्चालन हुनेछ। विजेता टोलीहरूले नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडीलाई पनि विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.