टोकन प्रणाली अन्त्य, अब श्रम स्वीकृति आवेदन दिएको दिनमै

सरकारले वैदेशिक रोजगारी प्रक्रियालाई सरल बनाउने महत्वपूर्ण निर्णय गर्दै श्रम स्वीकृतिमा प्रयोग हुँदै आएको टोकन प्रणाली खारेज गरेको छ। अब सेवाग्राहीले आवेदन दिएको दिनमै श्रम स्वीकृति पाउने व्यवस्था लागू गरिने भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। यसअघि सेवाग्राहीले टोकन लिएर तोकिएको मितिमा मात्र स्वीकृति लिन पाउने व्यवस्था थियो, जसले प्रक्रियालाई ढिलो र झन्झटिलो बनाउँदै आएको थियो।

सरकारले पूर्व प्रस्थान अभिमूखीकरण तालिमलाई पनि डिजिटल बनाउने योजना अघि सारेको छ। पाठ्यक्रममा आधारित श्रव्य–दृश्य सामग्री तयार गरी अनलाइन माध्यमबाट उपलब्ध गराइनेछ भने तालिमसमेत पूर्ण रूपमा अनलाइन प्रणालीमा सञ्चालन गरिनेछ।

त्यसैगरी, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई आवद्ध गराउने अभियान सञ्चालन गरिनेछ। न्यूनतम ज्यालाको पूर्ण कार्यान्वयन, श्रमाधान कल सेन्टरलाई थप प्रभावकारी बनाउने, तथा औद्योगिक प्रतिष्ठानहरूमा स्वास्थ्य र सुरक्षाको स्तर सुधार गर्ने योजना पनि अघि बढाइएको छ।

बैठकले आन्तरिक रोजगारी सिर्जना, उत्पादन र उद्यमशीलता प्रवर्द्धन, र थप पाँच देशसँग श्रम सम्झौता विस्तार गर्ने निर्णयसमेत गरेको छ। साथै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको सुरक्षा, कार्यस्थलको अवस्था र न्यूनतम मापदण्ड तय गर्न अध्ययन गरिने जनाइएको छ।

सरकारले सीप विकास तालिममार्फत रोजगारीमा जोड्ने, प्रदेशस्तरमा सीप मेला आयोजना गर्ने, सेवा प्रवाहलाई सेवाग्राहीमैत्री बनाउने र वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न प्रभावकारी कदम चाल्ने योजना पनि सार्वजनिक गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.