मकवानपुर ।
बागमती प्रदेशको राजधानी हेटौंडामा यस वर्ष ६९ औँ राष्ट्रिय सहकारी दिवस भब्यरुपमा मनाइने भएको छ। “उद्यमशिलता र पारदर्शिता : सहकारीको प्राथमिकता” नाराका साथ आयोजना हुने यस दिवसका लागि मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटा को संयोजकत्वमा १,१०० सदस्यीय मूल समारोह समिति गठन भइसकेको छ।
समितिमा जिल्ला सहकारी संघका पदाधिकारी, बिषयगत सहकारी संघका अध्यक्ष र अन्य सहकारी संस्थाका प्रतिनिधि सहभागी हुनेछन्। सल्लाहकारमा बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयका निमित्त सचिव उमेश दाहाल र राष्ट्रिय सहकारी महासंघका सञ्चालक बद्रीप्रसाद लम्साल रहेका छन्।
कार्यक्रमको श्रृंखलामा चैत्र १४ गते देखि सहकारी दिवस सम्बन्धी ब्यानर कार्यालयमा राखिनेछ। चैत्र १८ गते बुद्धचोकमा रक्तदान कार्यक्रम, १९ गते हिमालयन दरवार चौकीटोलमा “सहकारी संरक्षण र सम्वद्र्धनमा अभियान र नियमकीय भूमिका” विषयक अन्तरसंवाद आयोजना हुनेछ। यस अन्तरसंवाद कार्यक्रममा जिल्लाका करिब २५० जना अध्यक्ष र व्यवस्थापक सहभागी हुनेछन्।
अन्तिम दिन चैत्र २० गते बिहान ७ बजे हुप्राचौरबाट प्रभातफेरी सुरु हुँदै हिमालयन दरवार चौकीटोलमा मुख्य सहकारी दिवस समारोह आयोजना हुनेछ। सोही दिन साँझ जिल्लाभरका सहकारी संघ र संस्थाको कार्यालयमा दीपावली कार्यक्रम सञ्चालन गरिनेछ।























































