मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा बसोबास गर्ने चेपाङ र दलित समुदायका नागरिकका लागि राज्यको सेवा पहिलोपटक आफ्नै टोलबस्तीमै पुगेको छ। नागरिकता बनाउन सदरमुकाम हेटौँडा धाउनुपर्ने बाध्यता अन्त्य गर्दै गाउँमै नागरिकताको प्रमाणपत्र वितरण गरिएको हो।
वडा नम्बर ९ डन्टारमा आयोजित एकीकृत बृहत् घुम्ती शिविरमार्फत ३० जनालाई नागरिकता प्रदान गरिएको थियो। शिविरमा पुगेका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले पहुँचबाट टाढा रहेका तथा आर्थिक रूपमा कमजोर समुदायलाई लक्षित गर्दै नागरिकता वितरण गर्नुभएको हो।
७२ वर्षीया सुन्तली प्रजा र ५४ वर्षीया सुन्तली परियारजस्ता नागरिकले लामो समयपछि नागरिकता पाउँदा खुसी व्यक्त गरेका छन्। विशेष गरी एकल महिला परियारले नागरिकता पाएसँगै सरकारले दिने सामाजिक सुरक्षा भत्ताले दैनिकी सहज हुने अपेक्षा व्यक्त गर्नुभयो।
शिविरमार्फत नागरिकता मात्र नभई १,०८२ जनालाई राष्ट्रिय परिचयपत्र तथा अपाङ्गता परिचयपत्रसमेत वितरण गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो। साथै स्वास्थ्य सेवा, आयुर्वेदिक उपचार, पोषण कार्यक्रम तथा गर्भवती र सुत्केरी आमाहरूलाई आवश्यक सामग्री वितरण गरिएको थियो।
स्थानीय सरकारको सेवा घरदैलोमै पुर्याउने उद्देश्यसहित सञ्चालन गरिएको यस्तो शिविरले नागरिकलाई समय, श्रम र खर्च बचत गराउने विश्वास लिइएको छ।- गाेरखापत्रबाट साभार























































