हेटौँडामा बागमती प्रदेशसभाको हिउँदे अधिवेशन लामो अन्तरालपछि पुनः सुरु हुने भएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको १७औँ अधिवेशन मंगलबार अपराह्न ४ बजेका लागि बोलाएका हुन्।
यसअघि आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो। सोही आधारमा प्रदेशसभा बैठक तय गरिएको हो।
करिब पाँच महिनादेखि प्रदेशसभा निष्क्रिय रहँदै आएको थियो। गत मंसिर ३ गते वर्षे अधिवेशन अन्त्य भएपछि कुनै बैठक बस्न सकेको थिएन। यसबीच जेन–जी आन्दोलनका कारण प्रदेशसभा सचिवालय र सभाहलमा क्षति पुगेको थियो, जसले बैठक सञ्चालनमा थप अवरोध सिर्जना गरेको थियो।
त्यसै अवधिमा तत्कालीन सभामुख भुवनकुमार पाठकले असोज १ गते पदबाट राजीनामा दिएका थिए। पछि उपसभामुख अप्सरा चापागाईँले उक्त राजीनामाबारे सदस्यहरूलाई औपचारिक जानकारी गराएकी थिइन्।
लामो समयपछि बस्न लागेको यो बैठकले प्रदेशका राजनीतिक, कानुनी र प्रशासनिक विषयमा महत्त्वपूर्ण छलफल गर्ने अपेक्षा गरिएको छ।























































