मकवानपुरको बागमती गाउँपालिकामा आयोजना हुने आठौँ संस्करणको बागमती गोल्डकप आगामी बैशाख १७ गतेदेखि सुरु हुने भएको छ। आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको मिति सार्वजनिक गरेको हो।
बागमती खेलकुद विकास समितिका संयोजक रहर सिं थिङ का अनुसार प्रतियोगिता बैशाख २६ गतेसम्म सञ्चालन हुनेछ र आयोजकसहित कुल १० टिम सहभागी हुनेछन्।
बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान ले विगतमा फाल्गुनमा हुँदै आएको प्रतियोगिता यसपटक अन्य लिगका कारण पछि सारिएको बताए। उनले स्थानीय स्तरमै रंगशाला निर्माण र फुटबल एकेडमी सञ्चालन गर्ने योजना पनि अघि बढाइएको जानकारी दिए। प्रतियोगिताका लागि पालिकाले ५० लाख रुपैयाँ बजेट छुट्याएको छ।
यसपटकको प्रतियोगितामा चर्च ब्वाईज युनाइटेड, मछिन्द्र क्लब, एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, फ्रेन्ड क्लब, प्लानिङ ब्वाईज युनाइटेड, बागमती युथ क्लब, जीतपुर सिमरा क्लब लगायत टोलीहरू सहभागी हुनेछन्। साथै मलेसियाको पेनाङ फुटबल क्लब ले पनि प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगिता सहिद स्मृति रंगशाला मा सञ्चालन हुनेछ। विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई १ लाख १ हजार, विधागत उत्कृष्ट खेलाडीलाई २५–२५ हजार तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई १०–१० हजार रुपैयाँ प्रदान गरिनेछ।























































