नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य वृद्धि गरेको छ, जसले सर्वसाधारणको दैनिक खर्चमा थप दबाब सिर्जना गर्ने देखिएको छ। नयाँ मूल्य सूची गए राति १२ बजेदेखि लागू गरिएको हो।
नयाँ दरअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १७ रुपैयाँले बढेको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर २५ रुपैयाँको वृद्धि गरिएको छ। खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर १०० रुपैयाँ थपिएको छ, जसले भान्साको बजेटमा सीधा असर पार्नेछ।
अब पेट्रोलको मूल्य वर्गअनुसार २१६ रुपैयाँ ५० पैसादेखि २१९ रुपैयाँसम्म पुगेको छ। डिजेल तथा मट्टितेल पनि २०५ रुपैयाँ ५० पैसादेखि २०७ रुपैयाँ प्रतिलिटरसम्म कायम गरिएको छ। त्यस्तै, एलपी ग्यासको मूल्य प्रति सिलिण्डर २०१० रुपैयाँ पुगेको छ।
हवाई इन्धन (आन्तरिक) मा पनि प्रतिलिटर ६ रुपैयाँ वृद्धि भई २५७ रुपैयाँ पुगेको निगमले जनाएको छ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारको मूल्यका आधारमा समायोजन गर्दा पनि अझै मूल्य पूर्ण रूपमा समायोजन हुन नसकेको दाबी गरिएको छ। पछिल्लो समायोजनपछि पनि निगमले पाक्षिक करिब ७ अर्ब ८१ करोड रुपैयाँ घाटा बेहोरिरहेको जनाएको छ।















