मकवानपुर — बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडा वृद्धि हुने संकेत देखिएको छ। भाडा निर्धारण तथा समायोजन समितिले शुक्रबारको बैठकबाट नयाँ दर सिफारिस गर्दै भाडा बढाउने तयारी अघि बढाएको हो।
समितिको सिफारिसअनुसार काठमाडौँ उपत्यकाभित्र सञ्चालन हुने यात्रुवाहक सवारी साधनको भाडा करिब २५.९६ प्रतिशतसम्म बढाउने प्रस्ताव गरिएको छ। उपत्यका बाहिर सञ्चालन हुने सवारीमा भने १७.३५ प्रतिशत वृद्धि गर्ने सुझाव दिइएको छ।
त्यस्तै ट्याक्सी भाडामा १२.३९ प्रतिशत र मालवाहक सवारी साधनमा २६.७९ प्रतिशतसम्म वृद्धि गर्ने निर्णय गरिएको छ। यद्यपि विद्युतीय सवारी साधनको भाडादर भने यथावत् राख्ने निर्णय गरिएको छ।
प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका अनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई मध्यनजर गर्दै भाडा समायोजनको प्रस्ताव गरिएको हो।
अब यो सिफारिस मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ। त्यहाँबाट स्वीकृति पाएपछि प्रदेश राजपत्रमा प्रकाशन गरिनेछ र त्यसपछि मात्र नयाँ भाडादर लागू हुनेछ।
यदि प्रस्ताव कार्यान्वयनमा आएमा यात्रुहरूले सार्वजनिक यातायातमा बढी भाडा तिर्नुपर्नेछ भने यातायात व्यवसायीहरूले भने राहत महसुस गर्ने अपेक्षा गरिएको छ।























































