हेटौंडा उपमहानगरपालिका–१, भैरवडाडामा निर्माणाधीन तिरुपति बालाजी दिव्यधामले नयाँ नेतृत्व पाएको छ। शनिबार सम्पन्न तेस्रो वार्षिक साधारणसभाले राजेश घिमिरेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नवगठित समितिमा उपाध्यक्षका रूपमा डा. कृष्णप्रसाद धिताल र चण्डिका गौतम चयन भएका छन् भने सचिवको जिम्मेवारी विजय पौडेलले पाएका छन्। त्यस्तै, कोषाध्यक्षमा प्रमेश पराजुली चयन भएका छन्।
समितिका अन्य सदस्यहरूमा सविन न्यौपाने, सर्मिला पौडासैनी, शारदा रिजाल, उत्तमप्रसाद पौडेल, केशवप्रसाद सञ्जेल र श्रीराम लुइटेल रहेका छन्। निर्वाचन समितिका संयोजक दुर्गाप्रसाद न्यौपानेका अनुसार सबै पदमा सर्वसम्मत निर्णय भएको हो।
कार्यक्रम निवर्तमान अध्यक्ष प्रकाश न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो। सो अवसरमा चितवन, लंकुस्थित श्री लक्ष्मी बैकुण्ठनाथ मन्दिरका मठाधीश स्वामी १००८ जगन्नाथाचार्य प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा विभिन्न धार्मिक संघ–संस्थाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।















