हेटौंडा । नयाँ वर्षको पावन अवसरमा हेटौंडा उपमहानगरपालिका–१४, मयूरधापमा “तामाङ सांस्कृतिक कार्यक्रम–२०८२” आयोजना हुने भएको छ। ल्होछार तथा तामाङ सांस्कृतिक कार्यक्रम व्यवस्थापन समितिको आयोजनामा सञ्चालन हुने उक्त कार्यक्रम चैत्र ३० गतेदेखि वैशाख १ गतेसम्म सञ्चालन हुनेछ।
कार्यक्रमको पहिलो दिन अर्थात् चैत्र ३० गते विभिन्न चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ। दोस्रो दिन वैशाख १ गते पनि तामाङ समुदायका साथै अन्य कलाकारहरूको सांगीतिक प्रस्तुति, नृत्य तथा सांस्कृतिक झाँकी प्रस्तुत गरिने आयोजकले जनाएको छ।
कार्यक्रमको उद्घाटन समारोह चैत्र ३० गते बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न हुने आयोजक समितिका अध्यक्ष राजकुमार मोक्तानले जानकारी दिए ।
कार्यक्रममा लामा तथा झाँक्री प्रदर्शन, विभिन्न परिकारका स्टलहरू तथा स्थानीय कलाकारहरूको सांस्कृतिक नृत्यसमेत आकर्षणको रूपमा रहनेछ।
उक्त कार्यक्रमलाई हेटौंडा उपमहानगरपालिका वडा नं. १४ कार्यालयले आर्थिक सहयोग गरेको छ। तामाङ समुदायको कला, संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रम स्थल हेटौंडा–१४, मयूरधापमा राखिएको छ भने दर्शकहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।























































