लाइसेन्स छपाइको प्रगति अब वेबसाइटमै

लामो समयदेखि प्रतीक्षामा रहेका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी समस्यालाई समाधान गर्न सुरक्षण मुद्रण केन्द्रले नयाँ कदम चालेको छ। अब केन्द्रले आफूले छापेको लाइसेन्सको सङ्ख्या आफ्नै वेबसाइटमार्फत सार्वजनिक गर्न थालेको छ।

केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाका अनुसार सेवाग्राहीलाई छपाइको वास्तविक अवस्था बुझाउन यस्तो व्यवस्था गरिएको हो। प्राविधिक सीमितताका कारण दैनिक रूपमा ‘लाइभ अपडेट’ सम्भव नभए पनि प्रत्येक ३–५ दिन वा साप्ताहिक रूपमा विवरण अद्यावधिक गरिँदै आएको छ।

ढुंगानाले केन्द्रले अहिलेसम्म उत्पादन गरेको लाइसेन्सको विवरण खुला रूपमा राख्दै आएको र यातायात व्यवस्था विभागसँगको समन्वयमा छापिएका कार्डहरू सम्बन्धित कार्यालयमा पठाउने काम भइरहेको जानकारी दिए।

हाल केन्द्रले छपाइको गति उल्लेखनीय रूपमा बढाएको छ। दैनिक औसत ४० हजार लाइसेन्स छापिँदै आएको छ, जसअनुसार दुई दिनमा ८० हजार र तीन दिनमा करिब १ लाख २० हजार कार्ड उत्पादन भइरहेको छ। वर्षौँदेखि लाइसेन्सको पर्खाइमा रहेका सेवाग्राहीलाई छिटो सेवा दिन यो अभियान अघि बढाइएको हो।

विभिन्न जिल्लामा बाँकी आवेदनको सङ्ख्या फरक भएकाले सोही आधारमा प्राथमिकता निर्धारण गरिएको केन्द्रले जनाएको छ। कतै ६८ हजार त कतै ९४ हजारसम्म लाइसेन्स छाप्न बाँकी रहेको देखिएको छ।

हाल काठमाडौँ उपत्यकाका एकान्तकुना, राधेराधे र जगातीजस्ता ठूला यातायात कार्यालयका लाइसेन्सहरू प्राथमिकताका साथ छापिँदै छन्। देशभरका ४२ वटा यातायात कार्यालयसँगको समन्वयमा छपाइ र वितरण प्रक्रिया अघि बढाइएको केन्द्रले जनाएको छ।

यस पहलले सेवाग्राहीलाई लाइसेन्स प्राप्त गर्ने प्रक्रियामा पारदर्शिता ल्याउने र लामो समयको प्रतीक्षा अन्त्य गर्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.