हेटौंडामा बागमती प्रदेशको उद्योग, पर्यटन तथा वातावरण समितिको बैठक सम्पन्न भएको छ। सभापति आनन्द कुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले नीतिगत तथा कार्यान्वयनसम्बन्धी विभिन्न विषयमा छलफल गर्दै महत्वपूर्ण निर्णयहरू गरेको छ।
बैठकमा वन तथा वातावरण मन्त्रालयको कार्यसम्पादन, उपलब्धि र चुनौतीबारे समीक्षा गरिएको थियो। साथै, कामलाई थप प्रभावकारी बनाउने उपायबारे छलफल भएको जनाइएको छ।
समितिले अन्तरप्रदेश अनुभव आदान–प्रदान कार्यक्रम सञ्चालन गर्ने तथा प्रदेशस्तरमा हस्तकला ग्राम निर्माणलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरेको छ।
त्यसैगरी मन्त्रालय संख्या घटाउने क्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई गाभ्न सुझाव दिइएको छ। बढ्दो महँगी नियन्त्रणका लागि बजार अनुगमन कडाइका साथ सञ्चालन गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि गरिएको छ।
प्रतिकृया दिनुहोस्























































