मकवानपुरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ९० करोड ९७ लाख ४४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। २१औँ नगरसभामा उपप्रमुख भरत गोपालीले बजेट प्रस्तुत गरेका हुन्।
नगर प्रमुख विष्णुबहादुर विष्टले निर्णयार्थ पेश गरेको बजेट तथा कार्यक्रम नगरसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। नगरपालिकाले सार्वजनिक गरेको बजेटमा विकास निर्माणसँगै सामाजिक क्षेत्रका कार्यक्रमलाई प्राथमिकता दिइएको छ।
बजेटको स्रोततर्फ संघीय सरकारबाट ५५ करोड ८४ लाख ९१ हजार रुपैयाँ तथा प्रदेश सरकारबाट १२ करोड ६२ लाख ५२ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। बाँकी रकम आन्तरिक राजस्व तथा अन्य स्रोतबाट व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ।
उपप्रमुख गोपालीका अनुसार आगामी वर्षको बजेटले कृषि उत्पादन वृद्धि, सडक तथा भौतिक पूर्वाधार निर्माण, खानेपानी विस्तार, शिक्षा र स्वास्थ्य सेवाको सुदृढीकरणलाई विशेष महत्व दिएको छ।
यसका साथै युवा तथा खेलकुद विकास, महिला सशक्तीकरण, सामाजिक समावेशीकरण, वातावरण संरक्षण र पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई पनि बजेटमा प्राथमिकताका साथ समेटिएको छ।
नगरपालिकाले स्थानीय स्रोत र सम्भावनाको अधिकतम उपयोग गर्दै आर्थिक विकास, रोजगारी सिर्जना तथा नागरिकको जीवनस्तर उकास्ने लक्ष्यसहित बजेट ल्याएको जनाएको छ। बजेट कार्यान्वयन प्रभावकारी भए नगरको समग्र विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
























